काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । बिहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटिसी सिमुलेटर तथा आधारभुत एयर ट्राफिक सर्भिस तालिमको उद्घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले भने कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउनु हुँदैन । नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ । शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन । सम्मानीय प्रधानमन्त्री स्वदेश फर्किएपछि उनलाई भेटेर फिर्ता ल्याउने प्रक्रियाको बारेमा कुरा गर्ने वचनवद्वता व्यक्त गर्दछु।
उनले जग्गा फिर्ता भएपछि दक्ष जनशक्ति उत्पादन गर्नका लागि आवश्यक संरचना बनाउने समेत विश्वास दिलाए । मन्त्री पाण्डेले एकेडेमीको जग्गा अपुग भएको बताउँदै सरकारले लिएको एकेडेमीको जग्गा एकेडेमीमै फर्काउने गरि पहल गर्ने बचनवद्वता दोहोर्याए ।
मन्त्री पाण्डेले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिए । नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउन जरूरी छ । असुरक्षित छ भन्ने गलत भाष्य र प्रवृत्ति रोक्नु पर्छ ।
मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्नका लागि कुनै कसर बाँकी नराख्न नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक (डिजि) लाई निर्देशनदिँदै त्यसको जिम्मा प्राधिकरणले लिनु पर्ने बताए । त्यसै गरि उहाँले नेपालका एयरलाइन्सलाई सुरक्षित र भरपर्दो बनाउनका लागि सरकारले आवश्यक हस्तक्षेप गर्दै अघि बढ्ने समेत दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्