काठमाडौं । ‘पहिलो हिमालय शमशेर स्मृति व्याख्यान’ कार्यक्रम आज(बुधबार) काठमाडौंमा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जबराको स्मृतिमा बैंकले पहिलो पटक उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले ‘Central Banking in the 21st Century: Changing Paradigm’ विषयमा जानकारी दिएका थिए ।
उनले केन्द्रीय बैंकिङ्ग सम्बन्धी स्थापित मान्यतामा विगतदेखि २१ औं शताब्दीसम्म भएका परिवर्तन, पछिल्लो पाँच वर्षयता भारतीय अर्थतन्त्रमा भएको सुधारमा रिजर्व बैंकको भूमिकासँगै केन्द्रीय बैंकहरूले भोग्नुपरेका चुनौतीबारे धारणा राखे ।
वित्तीय सङ्कट र अर्थतन्त्रमा देखिएका पछिल्ला चुनौतीको सामना गर्नका लागि केन्द्रीय बैंकहरूसँग परम्परागत मौद्रिक उपकरणसँगै गैर- परम्परागत उपकरणहरू छनोटको विकल्प रहेको उनले बताए ।
पछिल्लो समय वित्तीय स्थायित्व कायम गर्नका लागि समष्टिगत विवेकशील नियमनका उपायहरू अवलम्बन गर्नेतर्फ केन्द्रीय बैंकहरू अग्रसर देखिन थालेको गभर्नर दासले जनाए । साथै, केन्द्रीय बैंक सञ्चारको महत्त्वबारे उल्लेख गर्दै गभर्नर दासले प्रभावकारी सञ्चार संयन्त्रले मौद्रिक नीतिप्रतिको अपेक्षालाई सम्बोधन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा उनले जलवायु परिवर्तन, भू-राजनीतिक तनाव, सूचना प्रविधिमा आधारित विकास, कृत्रिम बौद्धिकताको प्रयोगलगायतका विषयबाट सिर्जित चुनौतीबारे चर्चा गर्दै सोको सम्बोधनका लागि विभिन्न नीतिगत उपायसँगै नवप्रवर्तनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
उनले सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट र कोभिडपछिको अर्थतन्त्रको पृष्ठभूमिमा केन्द्रीय बैंकद्वारा लिइएका नीतिगत व्यवस्थाबारे सङ्क्षिप्त चर्चा गर्दै समष्टिगत आर्थिक स्थायित्वका लागि मूल्य स्थायित्वसँगै वित्तीय स्थायित्व पनि प्राथमिकतामा पर्नुपर्ने आवश्यकता औंल्याए ।
मूल्य स्थायित्व हासिल गर्ने केन्द्रीय बैंकको प्रमुख उद्देश्यमा प्रतिकूल असर नपर्ने गरी मुलुकको आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नेतर्फ समेत मौद्रिक नीति केन्द्रीत हुनुपर्ने धारणा गभर्नर दासले बताए । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्दै ‘Himalya Shumsher Memorial Lecture’ कार्यक्रमको अवधारणामाथि प्रकाश पारे ।
पछिल्लो समय सूचना प्रविधि र नवप्रवर्तनको विकाससँगै वित्तीय प्रणालीमा विश्वव्यापी रूपमै परिवर्तन देखिएको सन्दर्भ उल्लेख गर्दै उनले समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने कार्यमा केन्द्रीय बैंकको भूमिका थप महत्त्वपूर्ण बन्दै गएको धारणा राखे ।
अन्तर्राष्ट्रिय परिवेशमा देखिएका परिवर्तन र आधुनिकीकरणलाई आत्मसात् गर्दै आगामी दिनमा नेपाल राष्ट्र बैंकको भूमिकालाई समेत थप सबल बनाइने प्रतिबद्धता उनले व्यक्त गरे । कार्यक्रममा प्रथम गभर्नर स्व जबराले मुलुकको आर्थिक, मौद्रिक, वित्तीय तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा पुऱ्याएको योगदानको कदरस्वरूप सम्मान अर्पण गरेका थिए ।
कार्यक्रममा डेपुटी गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले समापन मन्तव्यको क्रममा सम्बद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा बैंक सञ्चालक समितिका पदाधिकारी, नेपालका लागि भारतीय राजदूत, पूर्व गभर्नर, अर्थविद्, राष्ट्र बैंकका कार्यकारी निर्देशक, निर्देशक तथा अन्य कर्मचारी, बैंकर, पत्रकार, भारतीय रिजर्व बैंकका पदाधिकारीलगायतको उपस्थिति थियो ।
बैंकको ६९ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले प्रथम गभर्नर स्व हिमालय शमशेर जबराको स्मृतिमा यस वर्षदेखि ‘Himalaya Shumsher Memorial Lecture’ कार्यक्रम आरम्भ गर्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्