काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य (सांसद)लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको बताएका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले रवि लामिछाने कुनै पनि सहकारीको ऋणी, सदस्य, व्यवस्थापक वा सञ्चालक नदेखिएको बताएका हुन् ।
गोर्खा मिडियामा जिबी राईमार्फत सहकारीको पैसा आएको पुष्टि भएको उनले बताए । नेता दाहालले सहकारी ठगीको विषयमा रवि लामिछानेको विषय सबैभन्दा चासोको रुपमा हेरिएको स्मरण गराउँदै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगको रुपमा स्थापित नभएको खण्डमा राजनीतिबाट सन्यास लिने घोषणा गरेको समेत स्मरण गराए ।
‘हाम्रो अध्यायन, तथ्य र प्रमाणले उहाँलाई सहकारी ठगी प्रकरणमा हामीले संलग्नता देख्दैनौं । सञ्चालक, व्यवस्थापक, कुनै सदस्य भेटिएन । सहकारीबाट ऋण लिएको देखिँदैन’ उनले भने ।
सहकारीबाट गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा ६५ करोड पुगेको र त्यो रकम खर्च गर्ने कार्यमा भने लामिछानेको संलग्नता पुष्टि भएको उनले बताए । त्यहाँ भएको पुँजी परिचालनमा लामिछानेको संलग्नता देखिएको उनले बताए ।
नेता दाहालका अनुसार लामिछानेले बयानका क्रममा पुँजी परिचानलमा आफ्नो संलग्नता नरहेको बताएका थिए । तर, समितिले प्रमाण र तथ्यका आधारमा पुँजी परिचालनमा उनको संलग्नता पुष्टि गरेको उनले बताए ।
‘सहकारी ठगीमा उहाँको संलग्नता नदेखिएपनि गैरकानुनी पुँजी परिचालनमा उहाँको संलग्नता देखिइसकेपछि उहाँलाई पनि कानुनको दायरामा ल्याउनुपर्छ, कारबाही गर्नुपर्छ भनेर हामीले सिफारिस गरेका छौं । त्यहाँ काहीँ आग्रह पूर्वाग्रह छैन । अब कानुनी हिसाबले अब थप अनुसन्धान गर्नुपर्ने भयो’ उनले भने ।
सहकारी छानविन प्रक्रियामा ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको उनले बताए । जसमा एक अर्बभन्दा कम हिनामिना भएको कुनै सहकारी नै नभेटिएको नेता दाहालको भनाइ छ । एकै सहकारीबाट ३२ अर्बसम्म हिनामिना भएको पाइएको उनले बताए । सहकारीबाट जिबी राईले ८ अर्ब र भरत महर्जनले १४ अर्ब ठगी गरेको उनले बताए । ठगी भएको रकम बेलायत लगायतका देशमा पुगेको पनि उनले बताए ।
विगतका दुई महिनामा गैरकानुनी राजनीतिक नियुक्ति, सरुवा बढुवा भइरहेको र अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम भइरहेको बताए । केपी ओलीको पुरानो व्यवहार पुन: दोहोरिने खतरा रहेको उनले बताए ।
सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय समितिले प्रतिवेदन तयार गर्ने क्रममा निश्पक्षता र तटस्थता कायम राख्ने प्रतिवद्धता गरेको र त्यहीअनुसार काम भएको उनले बताए । नेता दाहालले समितिले सरकारलाई सहकारीका सन्दर्भमा प्रष्टसँग सुझाव र निर्देशन दिएको पनि बताए । समितिले सहकारी ठगका चल अचल सम्पत्ति जफत गरेर पीडितहरुलाई न्याय दिन सरकारलाई निर्देशन दिएको पनि उनले बताए ।
साथै, सहकारी ठगी छानविन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको पनि उनले बताए । बेलायत, मलेसियामा भएका सहकारी ठगलाई ल्याउन नसकेपनि भारतमा लुकेर बसेका केही सहकारी ठगलाई ल्याइदिनुस् भनेर समितिले अनुरोध गर्दा सरकारले बेवास्ता गरेको उनको आरोप छ । भ्रष्टाचारीहरुको विरुद्धमा कारबाही प्रक्रिया प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै स्थगित भएको उनले बताए ।
सरकारलाई समितिले घर नम्बर र लोकेनसमेत दिँदा पनि सहकारी ठगहरु पक्रेर ल्याउन सरकराले सहयोग नगरेको उनको गुनासो छ । ‘हामीले प्रधानमन्त्रीज्यूलाई समितिमै बोलाएर भन्यौं । किन भएन ? गुनासो पोख्यौं । किन सरकार र गृहमन्त्रालय अनइच्छुक छ ? घर नम्बर र लोकेनसमेत दिँदा पनि सरकार त्यहाँ किन पुग्दैन ?’ उनले भने ।
नेता दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबै पात्रहरु कांग्रेस–एमालेका नेताहरु रहेकाले कारबाही हुनेमा आशंका व्यक्त गरे । ‘आफ्नै कार्यकर्तालाई हत्कडी लगाउन गठबन्धन सरकार तयार हुन्छ कि हुँदैन ? केपी ओली तयार हुनुहुन्छ कि हुनुहुँदैन ? शंका छ’ उनले भने ।
साथै, फरक प्रसंगमा उनले सरकार मातहतका संरचनाहरु अनुशासित ढंगले परिचालन गर्न नसक्दा बेथिति, अराजकता र भ्रष्टाचार बढिरहेको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जानुपर्ने मान्छे अहिले मन्त्रीको झण्डा हल्लाएर बसेको उनले बताए । यसको जवाफ वर्तमान सरकारले दिनुपर्ने उनको माग छ ।
प्रतिक्रिया दिनुहोस्