चितवन । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ जिल्ला शाखाको भवन आज शिलान्यास गरिएको छ । बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले भवनको शिलान्यास गरेका हुन ।
कार्यालयसँगै भवनमा पुस्तकालय रहने छ । भवन शिलन्यास समारोहमा जोशीले पुस्तकमा सबैको पहुँच पुर्याउन ठाउँठाउँमा पुस्तकालय आवश्यक रहेको बताए । फुर्सदको समयमा पुस्तक पढ्ने बानीले मानव जीवन सफल बन्ने भन्दै उनले यो पुस्तकालय जिल्लाकै नमूना पुस्तकालय बन्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका अध्यक्ष शिवसागर शर्माले चितवन शाखाले गर्न लागेको कामप्रति आभार व्यक्त गरे । पुस्तकालयको सही सदुपयोग हुनेमा उनले विश्वाससमेत व्यक्त गरे ।
भरतपुर महानगरपालिका–३ बाह्रघरे स्थित देउराली ताल नजिकै भवनको शिलान्यास गरिएको हो । सङ्घका पूर्वअध्यक्ष पङ्कज अग्रवाल र उनकी आमा कृष्णाकुमारी अग्रवालले प्रदान गरेका १० धुर जग्गामा भवन बनाउन लागिएको हो । करिब १ करोड ५० लाखको लागतमा निर्माण गर्न लागिएको सो भवन चार तलाको बन्ने छ ।
भवनमा पुस्तकालय, सभाहलसहित सचिवालय रहने सङ्घका अध्यक्ष परमेश आचार्यले जानकारी दिए । उनका अनुसार भवन आठ महिनाभित्र निर्माण सम्पन्न हुनेछ । आचार्यका अनुसार सङ्घमा जिल्लाका चार सयभन्दा बढी व्यवसायी आबद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्