काठमाडौं । नेपाल इञ्जिनियर एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष उम्मेदवार सुवासचन्द्र बरालले २ वर्ष आफ्नो काम छाडेर भए पनि इञ्जिनियरहरुको हक हितमा काम गर्ने जनाएका छन् ।
बुटवलमा लुम्बिनी प्रदेशका इञ्जिनियरहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो जनाएका हुन् । उनले आफूसँग साढे २ दशकको कार्य अनुभव रहेको र दुई दशकदेखि एसोसिएसनका हरेक गतिविधिमा संल्गन रहेकाले पनि इञ्जिनियरहरुका समस्यासँग राम्रो जानकार रहेको बताए ।
सरकारी तथा निजी क्षेत्रका इञ्जिनियर र आर्किटेक्टहरुका आ आफ्नै समस्या रहेको बताउँदै उनले अबको २ वर्षका लागि सबै समुदायको उन्नतिका लागि ठोस काम गर्न सक्छु भन्ने प्रतिबद्धताका साथ टिमसहित चुनावी मैदानमा आएको बताए ।
सातै प्रदेशमा सबल प्रदेश समिति र केन्द्रमा केन्द्रीय समिति बनाउने सोचका साथ सामूहिक रुपमा अघि बढेको बताउँदै अध्यक्ष उम्मेदवार बरालले प्रदेशसँग मिलेर काम गर्ने बताए ।
आफ्ना कुराहरु प्रतिबद्धतामार्फत ल्याएको बताउँदै बरालले आफ्नो नेतृत्वमा पेशागत हक हितका सवालमा परिवर्तन ल्याइछाड्ने दृढता व्यक्त गरे । सहभागीहरुले निर्वाचनमा बरालको योजनामा आफूहरु सहमत रहेको बताए ।
उनीहरुले अनुभव र संगठनप्रतिको लगाव भएकाले बराललाई सहयोगको प्रतिबद्धता समेत जनाए । बराल समूह पोखरामा अन्र्तक्रिया सकेर काठमाडौंमा अन्र्तक्रियामा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्