काठमाडौं । पर्यटकीय एवम् सांस्कृतिक ग्राम बन्दीपुरमा नेपालको इतिहासमा नै सम्भवत: लामो तीज मेला सम्पन्न भएको छ । करिब २१ लाख रुपैयाँ लागतमा सो ८ दिने तीज कार्यक्रम सम्पन्न भएको हो ।
उत्सवको उद्घाटन महानायक राजेश हमालले गरेका थिए । प्रत्येक दिन विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई प्रमुख अतिथिको रूपमा अवलोकन गराइएको थियो । कार्यक्रममा तीज प्रतियोगिता र वृहत्तर सांस्कृतिक तीजे कन्सर्ट संयोजन गरिएको थियो ।
तीज गीत प्रतियोगितामा ५५ समूहले नाम दर्ता गरे पनि ३७ समूहले मात्र भाग लिनको लागि छनौट भएका थिए । प्रतियोगिता दुई चरणमा गराइएको थियो । पहिलो सहभागिताको छनौट चरण र फाइनल चरण भनेर प्रतियोगिता अगाडि बढेको आयोजकले जनाएको छ ।फाइनल राउन्डमा २१ समूहहरूको प्रस्तुति गरिसकेपछि प्रथम, द्धितिय, तृतीय, चौथौ बाहेक उत्कृष्ट १० समूह, उत्कृष्ट नृत्य, उत्कृष्ट भेसभुसा समेत र उत्कृष्ट शब्द चयन तथा प्रस्तुति विधा गरी १७ टिमले पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।
प्रतियोगितामा प्रथम स्थान एकता मगर समाज म्याग्दे तनहुँले हासिल गरेको थियो भने, द्वितीय स्थान वाग्लुङ्ग जिल्लाको वाग्लुङ्ग कालिका भजन कृर्तन सत्सङ्गले हासिल गरेको थियो । तृतीय स्थान तनहुँको भानु हरियाली प्राकृतिक कृषक महिला समूह र चौथो बन्दीपुरको केराबारी महिला समूहले हासिल गरेको बन्दीपुरहिलले जनाएको छ ।
उत्कृष्ट शब्द सहितको प्रस्तुतिको पुरस्कार भने ड्राइभ ईन सिस्टर ग्रुपले जित्न सफल भएको छ । कार्यक्रम खड्गदेवी मन्दिरको प्राङ्गणमा भाद्र १५ गते देखि २२ गते सम्म सञ्चालित थियो । हरेक दिन तीन जना निर्णायक रहेको इज्लासले निर्णय सार्वजनिक गरेको थियो ।प्रतियोगिताले तीजको मौलिकता र आजको आवश्यकता के हो भन्ने कुरा बुझ्नको लागि बढी जोड गरेकोले परिणाम समेत त्यही अनुरूप आएको निर्णायक एवं कार्यक्रम सांस्कृतिक विभाग प्रमुख डा। तुलसीराम खनालले बताए ।
उत्सवमा १० हजार व्यक्तिको सहभागिता गराउने लक्ष्य रहेकोमा २१ हजार बढीको सहभागिता रहँदा सोचे भन्दा राम्रो कार्यक्रम भएको संयोजक किरण पोख्रेले दाबी गरे ।
यस उत्सवको संरक्षक बन्दीपुर गाउँपालिका, प्रमुख व्यवस्थापक एवं प्रायोजक बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड, सह प्रयोजक गोरखा ब्रुअरी, बन्दीपुर ह्विस्की, प्रमुख पुरस्कार प्रायोजक चन्द्र निर्माण सेवा प्रालि, द्वितीय पुरस्कार प्रायोजक डिजाइन स्टेसन प्रालि, तृतीय पुरस्कार प्रायोजक बीज बजार लिमिटेड, चौथो पुरस्कार प्रायोजक केज कन्सल्टेन्ट प्रालि र सह प्रायोजक अन्य पुरस्कारहरू बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रायोजन गरेको थियो ।
उत्सव आयोजकको रूपमा प्रमुख आयोजक बन्दीपुरहिल र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड, सह आयोजकको रूपमा पर्यटन विकास समिति बन्दीपुर, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर इकाइ, क्षेत्रीय होटेल सङ्घ बन्दीपुर, रेवान बन्दीपुर जिल्ला बार एसोसिएसन, आरकेडी महिला उद्यंमशिल क्वल, बन्दीपुर गा.पा सांस्कृतिक विभाग रहेका थिए ।
यस कार्यक्रमले बन्दीपुरको सांस्कृतिक पक्षको प्रवर्धन गर्न सफल भएको मुख्य आयोजक एवं प्रायोजक बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्