काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन’को स्थापना गरेको घोषणा गरेको छ ।
साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनईभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको हो । सो फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाईडी गाडी बिक्री वापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिने छ ।
यस सम्बन्धी घोषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बीवाईडी गाडीवापत १० हजार रुपैयाँ साइमेक्स बीवाईडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरे । यो पहलले कुनै पनि कार्यमा महत्पूर्ण प्रभाव पार्ने गरी समुदायलाई संलग्न गराउने बीवाईडी र साइमेक्सको सामुहिक लक्ष्यतर्फ संकेत गर्दछ ।
यसका साथै साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरे । सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने नेतृत्वको अटल समर्पणलाई यसले प्रतिविम्वित गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीहरुलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुने कम्पनीले जनाएको छ । यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्याउन समर्पित गरिने छ ।
बीवाईडी नेपालका प्रतिष्ठित ब्रान्ड एम्बेसडर हरिबंश आचार्यले साइमेक्स इंक र बीवाईडीले यसरी समुदायमा वास्तविक फरकपनको अनुभव गराउन गरेको अर्थपूर्ण पहलका लागि बधाई ज्ञापन गरे ।
लिउ स्वेलियाङले भने,‘साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन एउटा सामान्य पहल मात्र होइन, यो सबैको सुन्दर भविष्यका लागि हाम्रो प्रतिबद्धता समेत हो । हामी व्यवसाय भन्दा पर रहेर समाजमा योगदान दिने कुरामा विश्वास गर्दछौ र यसका लागि स्थायी र सकारात्मक प्रभाव सिर्जना गर्न प्रतिबद्ध छौ ।’
यो फाउन्डेसन साइमेक्स इंक र बीवाईडीको सामाजिक हितको लागि समर्पणको प्रमाण हो, जसले यसलाई व्यावसायिक उद्यम मात्र नभई दिगो विकास र सकारात्मक परिवर्तनको संवाहक समेत बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्