काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवनको काम सकिन अझै डेढ वर्ष लाग्ने देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आगामी चैत्र २० गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौता रहेको भएपनि समयावधि भित्रै सक्नेगरी काम हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
बिहिबार निर्माणाधिन नयाँ संसद भवनको निरीक्षण अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले सात महिना भित्रमा बाहिरको भौतिक पूर्वाधारसम्म बनाउनसके पनि भित्रका फिनिसिङका कुराहरु सम्पन्न गर्न समयावधि पछिका ७ महिना जति लाग्ने देखिएको उल्लेख गरे ।
उनले अझै डेढ वर्ष भन्दा अगाडि नयाँ संसद भवनबाट काम गर्न सकिने अवस्था नरहेको भन्दै छिटो काम सम्पन्न गर्न आग्रह गरे । निर्माणका लागि कुनै जटिलताहरु भए सरकारसँग छलफल गरी समाधान गर्न पनि आग्रह गरे ।
उनले भने, ‘अब छिटो सक्याएर हामीले हाम्रो संसदका कामहरु यो भवनबाट छिटो क्लियर गर्न पाए हुन्थ्यो भन्ने तिब्र इच्छा छ । ह्याबी कामहरु रहेको र प्रतिकुलताहरु धेरै भएकाले निर्माणको जिम्मा पाएको टिमले यो कामहरु गर्न गाह्रो भइरहेको छ । सात महिना भित्रमा यसको बाहिरको भौतिक पूर्वाधारसम्म बनाउला तर यसका भित्रका कुराहरु फिनिसिङका कुराहरु सबै कुराहरुले अरु पाँचदेखि सात महिना लाग्ने देखिन्छ । अझै डेढ वर्ष भन्दा अगाडि यहाँ कार्यक्रम गर्न नसक्ने देखिन्छ ।’
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन ८१ प्रतिशत रहेको बताए । उनले भवनहरुमा छानाको काम सबै सम्पन्न भइसकेको पनि बताए ।
उनले इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरु अघि बढिरहेको जानकारी दिदै १९ प्रतिशत बाँकी निर्माण कार्य चैत्र २० गतेभित्र सम्पन्न गर्न निर्माण व्यवसायीसँग निर्धारित कार्यतालिकासमेत माग गरेर अघि बढेको जानकारी दिए ।
उनले भने,‘छानाको काम सबै भवनहरुमा सम्पन्न भइसकेको छ । असार मसान्तसम्म भौतिक प्रगति मूल्यांकन गर्दा ८१ प्रतिशत भएको थियो । इलेक्ट्रिफिकेशन स्यानेटरीको कामहरु अघि बढेको अवस्था छ । निर्माण कार्य समयमै सक्न दुई चरणमा भएपनि काम अघि बढाउने निर्देशन भएको छ । त्यो अनुसार भदौ १ गतेदेखि नै काम गर्न निर्देशन दिएपनि काम अघि नबढेको अवस्था छ ।’
महानिर्देशक महर्जनले निर्माण कार्य समयमै सक्न दुई चरणमा काम गर्न निर्देशन दिएपनि अहिलेसम्म शुरु नभएको बताए । निर्माण कार्य निर्धारित समयमै सक्नेगरी काम गर्नुपर्नेमा सरकारको जोड रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्