Shikhar Insurance
National Life

नापतौलका यन्त्रको दर्ता नवीकरण गर्न टोली परिचालन

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार ११:३३
Hyundai
NCELL
NIMB

कञ्चनपुर । नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन गरिएको छ । व्यवसायीको सहजताका लागि गुणस्तर तथा नाप तौल कार्यालय धनगढीले सहायक निरीक्षक चुडामणि जोशीको संयोजकत्वमा टोली खटाएको हो ।

टोलीले शुक्लाफाँटा नगरपालिकाको झलारी, वनसमिति, कलुवापुरसँगै बेदकोट नगरपालिकाको दैजी र सिसैयाका व्यापारी र व्यवसायीले प्रयोगमा ल्याउने नाप तौलका यन्त्रहरूको अनुमति प्रदान गर्ने, जाँच गर्ने, पुन:जाँच गर्ने, अनियमित क्रियाकलाप गर्ने व्यापारी–व्यवसायीलाई कारबाही गर्ने अख्तियारीसहित डोर टोलीलाई सात दिनका लागि खटाइएको नापतौल कार्यालयका प्रमुख शम्भु आचार्यले जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार नापतौलका यन्त्रको प्रयोग प्रचलित कानूनको पालना गरी प्रयोग भए/नभएकोबारे टोलीले अनुगमन पनि गर्नेछ । टोलीले मङ्गलबारदेखि झलारी बजारमा नापतौलका यन्त्रको अनुमति दिने र जाँच गर्ने कार्य गरेको छ ।

टोली प्रमुख जोशीले झलारी बजारका ४० बढी व्यापारीका नापतौल यन्त्र नवीकरण गर्नेसँगै पुन: जाँच गरिएको बताए । ढक, तराजुलगायत नापतौल यन्त्रमा सामान्य घटबढ देखिए पनि अनियमियता भएको नपाइएको उनले बताए ।

उनका अनुसार सुनचाँदी, कलकारखाना, उद्योगले प्रयोग गर्ने नापतौलका यन्त्र एक वर्षभित्र र बाँकी अन्य व्यवासायीले प्रयोग गर्ने यन्त्र दुई वर्षभित्र नवीकरण र पुन: जाँच गराउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

‘नयाँ नापतौलका यन्त्र ३५ दिनभित्र दर्ता गर्दा  पाँच मात्रै शु:ल्क तिर्नुपर्ने प्रावधान छ’, नापतौल कार्यालयका सहायक निरीक्षक जोशीले भने ‘निर्धारित समयभित्र दर्ता नगराए १ हजारदेखि ५ हजारसम्म शु:ल्क तिर्नुपर्ने हुन्छ ।’ नापतौलका यन्त्र दर्ता गर्ने प्रक्रिया, नवीकरण र पुन: जाँच गराउने कार्यसँगै कानुनी पक्षबारे व्यापारी व्यवसायीलाई सचेत पार्ने काम भइरहेको उनको भनाइ छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्