काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यावधि १५ दिन थप भएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा समितिको कार्यवधि १५ दिनका लागि थप गरिएको हो । बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराएका थिए ।
समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । तर तीन महिनामा काम नसकेपछि सभापति थापाले समितिले १५ दिनका लागि म्याद थप गर्न प्रतिनिधि सभा बैठकमा प्रस्ताव प्रस्तुत गरेका हुन् ।
प्रस्तुत प्रस्तावलाई समितिले सर्वसम्मत स्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान छन् ।
प्रतिक्रिया दिनुहोस्