Shikhar Insurance
National Life

विकासको घाम उदाएन अझै चुरे वस्तीमा

सिंहदरबार संवाददाता
२०८१ भाद्र १४, शुक्रबार १३:२७
Hyundai
NCELL
NIMB

सर्लाही । सर्लाहीको उत्तरी चुरे क्षेत्रका साविक नारायण खोला गाविस ९लालबन्दी–१४० र परवानीपुर गाविस (लालबन्दी–१५) सडक सञ्जालमा जोडिन नसक्दा स्थानीयको दैनिकी निकै कष्टकर बनेको छ । दुई वडाका नागरिकले व्यवस्थित सडकको अभावमा अत्यन्त विकट ‘कर्णाली’को अवस्था महसुस गरिरहेका हुन ।

यहाँका स्थानीयको लागि वर्षाको खहरे खोला नै हिउँदभरि यातायात चल्ने सडक बनेको छ । वर्षाको बेलामा गाउँमा कोही बिरामी परिहाले उपचार गर्न अस्पतालसम्म लैजानसमेत नपाइने लालबन्दी–१५, सिरकालिन्जोर निवासी राम्रीमाया थिङले बताए । ‘वर्षामा कि त पानी घट्ने समय पर्खनुपर्छ’, उनले भने ‘कि त खोलामा ज्यान बाजी लगाएर हेलिनु पर्‍यो ।’ जेठदेखि भदौसम्म यस क्षेत्रमा आउने यातायातको साधन पूर्णरुपमा ठप्प हुने गर्दछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अवधिको लागि आवश्यक खाद्यान्नलगायतको सामान पहिला नै जोहो गर्ने चलन छ । अत्यन्त कमजोर भूसतह रहेको चुरेका पहाडमा पछिल्ला केही वर्ष सडक विस्तार नभएका होइन । चुनावमा पहिलो सर्तको रुपमा सडक निर्माणलाई राख्ने र निर्वाचित भए लगतै चुरेमा डोजर कुदाएर नागरिकलाई सुविधाको नाममा विपद्मा पार्ने काम यहाँ पनि निरन्तर भइरहेको छ । यसरी जथाभावि खनिएको ट्रयाकका कारण चुरे पहाड क्षेत्विक्षत् हुने गरी पहिरो गएको स्थानीय बताउछन् ।

पूर्व पश्चिम लोकमार्गबाट केही किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा पुग्दा कुनै अनकन्टार ठाउँमा पुगेको स्पष्ट अनुभव हुन्छ । यी गाउँ अझै सूचना प्रविधिको पहुँचबाट निकै टाढा छन् । केही ठाउँमा टेलिफोनको नेटवर्क आएपनि सजिलै कुरा गर्न सकिदैन भने अधिकांस स्थानमा नेटवर्क नै आउँदैन् । मोवाइलको टावर पनि राम्रो घामलागेको बेलामा मात्र आउने स्थानीयको गुनासो छ ।

लालबन्दी नगरपालिका–१४, तीन तलेका ६७ वर्षीय सञ्चरसिंह वाइबा भन े‘यस ठाउँमा बसेको वर्षौं भयो । आफू जन्मेहुर्केको गाउँ ठाउँ चटक छाडेर हिड्न पनि सकिँदैन । विकासका आधारभूत पूर्वाधार नहुँदा जनजीवनमा सुधार आएन । अझै यस क्षेत्रमा विकासको घाम उदाएन ।’ उनले २०२८ सालतिर यहाँ बसाई सरेर आएका थिए । सडक नहुँदा वर्षातको समयमा समयमै उपचार नपाएरै केहीले ज्यान गुमाउनुपरेको वाइबा बताए ।

चुनावमा भोट दिएर जिताएका नेता त्यसपछि फर्किएर नआएको उनको गुनासो छ । यस दुई वडाको भौगोलिक विकटता, फोन, इन्टरनेटलगायतको प्रविधिको सुविधा नभएकाले वडा कार्यालय बजारबाटै सञ्चालन गरिएको छ । लालबन्दी नगरपालिका–१४, का वडाध्यक्ष छेनाम सिंह घिसिङले बताउनुभयो । यस वडाका नागरिक सेवा लिन एक दिन हिडेर आइपुग्नु पर्ने बाध्यता छ ।

व्यवस्थित सडक नभएकै कारण यस क्षेत्रका नागरिकले वर्षौदेखि अन्य सुविधा पनि उपयोग गर्न नपाएको लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरख बलले बताए । बिजुली, पानी लगायतको सुविधा पटकपटक पुर्‍याए पनि सडक नभएक कारण दिगो हुन नसकेको उनको भनाइ छ । ‘बिग्रिएका संरचना बनाउन जानसमेत सडक छैन्’ उनले भने ‘स्थानीयले महिनौंसम्म बिजुली, खानेपानीलगायतको सुविधाबाट बन्चित हुनु परिरहेको छ ।’

स्थानीयवासीले लखन्देही र फुलजोर खोलाको डाडाँ भित्तामा रहेका टार खेतमा समयअनुसार मकै, धान, तोरी बेसारलगायत अन्नबाली उत्पादन गर्ने गरेका छन् । आकाशे पानीको भरमा गरिने खेती मौसम प्रतिकुल हुँदा भने उत्पादन नहुने किसानको गुनासो छ ।

विकटतासँगै वैदेशिक रोजगारीका लागि विदेसिने युवाका कारण पछिल्लो समय गाउँघर समेत रित्तिदै गएका कामीटारका शङ्खर विश्वकर्माले बताए । ‘पहिला राम्रो खेती हुने देखेर हाम्रा बाबु बाजे यहाँ आइपुग्नु भएको हो । तर अहिले मानिसलाई पढाइलेखाइको ज्ञान भयो । सडक, बिजुली, पानी घर–घरमा आउनु पर्यो । त्यसैको खोजीमा अन्यत्र जाँदैछन् । अहिले गाउँ रित्तिने क्रममा छ ।’

लालबन्दीको नारायण खोला र परवानीपुर जस्तै हरिवन नगरपालिका–१ र २, बागमती नगरपालिका–१ र ११ का केही गाउँ चुरे पाखामै छन् । यी पाखाहरुसम्म खनिएका ट्रयाक प्रत्येक वर्ष पानी पर्न सुरु भए पनि हिड्नै नमिल्ने गरी बग्ने गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्