बागमती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो एक महिनामा ४ करोड ५० लाख १४ हजार राजस्व सङ्कलन गरेको छ ।
उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार गत साउनमा उपमहानगपालिकाले सम्पत्ति करबाट १ करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट १ करोड १८ लाख ७५ हजार, घरबहाल करबाट ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट ३३ लाख ४० हजार, बहाल बिटोरी करबाट १८ लाख ७८ हजार, व्यवसाय करबाट ४१ लाख २१ हजार र प्रशासकनिक दण्ड जरिवाना र जफतबाट ५ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ ।
यो अघिल्लो आव २०८०/८१ को साउनको तुलनामा रु २५ लाख ६२ हजार कम राजस्व सङ्कलन भएको हो । आव २०८०/८१ को साउनमा उपमहानगरपालिकाले ४ करोड ७५ लाख ७६ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आव २०८१/८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी सङ्कलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण अघिल्लो आवको तुलनामा चालु आवको पहिलो महिनामा कम राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताए ।
यस्तै विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौँडा उपमहानगरले आव २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । उपमहानगरले आव २०८०/८१ मा ३० करोड ९४ लाख पाँच हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा विभिन्न शीर्षकमा ३४ करोड सात लाख ६४ हजार छ सय ४० राजस्व सङ्कलन गरेको छ ।
उपमहानगरपालिकाले आव २०८०/८१ मा एकीकृत सम्पत्ति करबाट ७ करोड ३० लाख २८ हजार, घरबहाल करबाट रु छ करोड एक लाख ६८ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु पाँच करोड २३ लाख नौ हजार, बहाल बिटोरी करबाट दुई करोड ४९ लाख ७४ हजार, सिफारिस दस्तुरबाट ३ करोड ४१ लाख ९६ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट २ करोड ३२ लाख ३१ हजार, नक्सापास दस्तुरबाट १ करोड छ लाख ३० हजार, सरकारी सम्पत्ति बहालबाट ५ लाख ८६ हजार, ढुङ्गागिट्टी बालुवा बिक्रीबाट ८० लाख र प्रशासनिक दण्ड जरिवानावापत रु ८६ लाख ७३ हजार राजस्व सङ्कलन भएको राजस्व शाखा प्रमुख सुवेदीले बताए ।
प्रतिक्रिया दिनुहोस्