काठमाडौं । ‘नाडा अटो शोको २०२४’ ले एक अलग पहिचान कायम गरेको छ । यो शो मा हुन्डाईले नेपालमै बनेको कार हुन्डाई भेन्यूलाई पहिलो आर्कषणको रुपमा प्रस्तुत गरेको छ । यो सँगै हुन्डाईले थप दुई गाडी समेत प्रदर्शनमा राखेको छ ।
लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडलको कार उत्पादन सुरु गरेपछीको यो पहिलो नाडा अटो शो भएकाले नेपालमै उत्पादीत हुन्डाई भेन्यू अटो शो को आकर्षण बनेको हो । नेपालमै बनेको भएपनी यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बनेका गाडी सरहकै रहेको कम्पनीले दाबी गरेको छ ।
स्वदेशी सिप तथा प्रविधिको प्रयोग भएको, आन्तरिक स्रोत तथा विद्युतको खपतबाट उत्पादन भएकोले यस मोडलको गाडी नेपाली बजारमा उपभोक्तालाई सहुलियत मूल्यमा उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।
दुई फरक भेरियन्टमा बजारमा रहेको हुन्डाई भेन्यूको मूल्य एक्स एस भेरियन्टको ५३ लाख ५६ हजार तथा एस भेरियन्टको मुल्य ४४ लाख ९६ हजार रहेको छ ।
यसमा नयाँ मोडल क्रेटा २०२४ थप विभिन्न नयाँ फिचर्सहरुको साथमा रहेको छ जसमा कम्पनीले भेन्टिलेटेड सिट, मस्कुलर इन्टिरीयल, आकर्षक हेडलाईट डिजाइन, स्मार्ट स्टेरीङ कम्फर्ट, ड्यासबोर्ड डिजाइनमा परिवर्तन गरेर थप नयाँपनका साथ नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
सेफ्टीका लागि ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल सिस्टम रहेको कम्पनीले जनाएको छ । ट्विन १०–२५ इन्च स्क्रिनका साथै ड्युअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, मल्टी कलर एम्बियन्ट लाइटिङ, बोस साउन्ड सिस्टम, ब्लु लिंक कनेक्टेड कार टेक्नोलोजी समेत रहेको छ ।
नयाँ क्रेटामा १.५ लिटर एमपीआई पेट्रोल तथा १.५ लिटर सीआरडीआई डिजेल इन्जिन जडान गरिएको छ । साथै यो कार १.५ लिटर टर्बो पेट्रोल इन्जिनमा पनि उपलब्ध छ, जसमा ७ स्पिड डीसीटी युनिटसँग जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस्