काठमाडौं । नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा नेपाल आयल निगम लिमिटेडका अध्यक्ष मधुसुदन बुर्लाकोटीले यस्तो बताएका हुन् ।
उनले विमानस्थलभित्र रहेको अयाल निगमको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताए । उनले प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने भन्दै विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरुको बाध्यता भएको बताए ।
यद्यपी प्रधानमन्त्रीको निर्देशन अनुरुप आफूले काठमाडौं उपत्यकाका केही स्थानहरुमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको बताए । उनले राजनीतिक तहले स्वामित्व नलिएसम्म सो स्थानबारे आफूले अहिले नै खुलाउनु उपयुक्त नहुने जानकारी दिए । उनले विमानस्थल भित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको बताए ।
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न निगम तयार भएपनि जग्गा अभावका कारण सम्भव नभएको बताए ।
उनले जग्गा उपलब्ध हुन सकेमा आफूहरुले तुरुन्त काम अगाडी बढाउने बताए । उनले निगमले स्थानान्तरणका लागि बजेट छुट्याएर राखेको भएपनि जग्गा प्राप्ति नहुँदा गर्न नसकिएको जानकारी दिए । उनले आयल निगमलाई तुरुन्त जग्गा उपलब्ध गराउनका लागि नार्कलाई निर्देशन दिन पनि समितिलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्