काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा तत्काल विद्युतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
ऊर्जामन्त्री खड्काले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामेमा विद्युत अवरुद्ध भएको भन्दै तत्काल विद्युतको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
गत साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्याएको छ । बाढीले विद्युत गृहमा क्षति पुर्याएपछि विद्युत् सेवा अवरुद्ध बनेको छ । बाढीको कारण खुम्बु बिजुली कम्पनीको हेडवर्कसमा क्षति पुग्न गई विद्युत सेवा अवरुद्ध हुँदा सो गाउँपालिका–३, ४ र ५ मा विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएको छ ।
यसैबीच ऊर्जामन्त्री खड्काले ताप्लेजुङको पाथीभरा क्षेत्र आसपासमा भएको विद्युत अवरोधसमेत चाँडो सञ्चालन गर्न प्राधिकरणलाई निर्देशन दिए । साथै ताप्लेजुङ र झापाका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएपछि मन्त्री खड्काले चासो राख्एका छन् ।
प्रतिक्रिया दिनुहोस्