दाङ । पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका हुन् ।
विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन् ।
दाङको राप्ती गाउँपालिका–५ सिसहनियामा रहेको सिसहनिया साना किसान कृषि सहकारी संस्थामा आबद्ध भएका राप्ती–८ पिपरीका बेला नेपाली सहकारीमा जोडिएको एक वर्ष भयो । कृषिसम्बन्धी बीउ, मल पाउँदा उनी खुसी छिन् । उनले व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएकी हुन् । उनी सहकारीमार्फत सहुलियतमा ऋण लगेर लगानी गरेको बताइन् । यस वर्षमात्र घरमा खाएर बचेको चार–पाँच क्विन्टल आलु बेच्ने गरेको उनले जानकारी गरिन् ।
आफ्नोतर्फबाट धेरै महिला दिदीबहिनीलाई पनि सहकारीमा जोड्न सफल भएको उनले बताइन् । संस्थामा आबद्ध भएपछि थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको किसान नेपालीले जानकारी गरिन् । ‘संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ’उनले भनिन् । सहकारी संस्थामा मासिक ५ सय बचत गर्दै आएको उनले बताइन् ।
उनीजस्तै सहकारीका अर्का सदस्य राप्ती गाउँपालिका–८ का श्यामकली चौधरी सहकारीमा आबद्ध भएपछि खुसी रहेको बताइन् । आवश्यक परेको बेला मल, बीउ, कृषि औजारजस्ता सामग्री अनुदानमा पाइने भएकाले कृषि व्यवसाय गर्न सहज भएको उनले बताइन् । अहिले १० कठ्ठामा आलुखेती, १७ कठ्ठामा मकैखेती गर्दै आएको उनले भनिन् । चौधरीले भनिन्‘दु:ख नगरेर कृषिमा आम्दानी हुँदैन, आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’ दुई–चार रुपैयाँ आवश्यक परेको बेला अरुसँग हात थाप्नुभन्दा आफैँ कृषि व्यवसाय गरेर आम्दानी पनि राम्रो हुँदै गएको उनले बताइन् ।
उनले भपनन् ‘खाली समयमा घरमा बस्नुभन्दा कृषि पेशा आम्दानीको राम्रो स्रोत भएको छ ।’ उनले कृषि पेशाबाटै मासिक १०–१५ हजार बचत गर्ने गरेको बताइन् । चौधरी आफूजस्तै अन्य दिदीबहिनीलाई पनि कुनै न कुनै पेशा–व्यवसायमा जोडिन आग्रह गरिन् ।
सोही ठाउँका सुनिताकुमारी चौधरी पनि नौ महिनादेखि सहकारीमा आबद्ध छिन । सिसहनिया साना किसान कृषि सहकारी संस्थाबाट समयमा मल पाउने हुँदा उहाँले १८ कठ्ठामा मकैखेती र १४ कठ्ठमा आलुखेती गर्दै आएकी छिन् भने मकै लगाउन मेसिन, मकैको बीउ पनि ५० प्रतिशत अनुदानमा प्राप्त गर्दै आएको बताइन् ।
सिसहनिया साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु गुरुङले विगत सात वर्षदेखि सञ्चालनमा रहेको सहकारीमा महिला मात्र आबद्ध हुँदै आएको बताए । हाल संस्थामा आठ सय ४० सदस्य रहेका छन् । सहकारीका सदस्यले विभिन्न कृषिसम्बन्धी सहयोग प्राप्त गर्दै आएको उनले जानकारी गरे ।
सहकारीले महिलामा आपसी सद्भाव, सहकार्य, सिकाइ आदानप्रदानका कुरामा पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनले जानकारी गरे । सहकारीबाट सहुलियतमा ऋण लगेर विभिन्न पेशा, व्यवसायमा जोडिएर स्वावलम्बन बन्न सफल भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्