काठमाडौं । भैरहवा भन्सार कार्यालय चोरी, तस्करी र भन्सार छलि रोक्न आक्रामक बनेको छ । कार्यालयले खुला सिमानाका कारण हुने तस्करीलाई रोक्न प्रहरीको गस्ति र भन्सार छलिको सामान जफत गर्ने काम बढाएको हो ।
बिहिबार कार्यालयले रुपन्देही जिल्लाको मायादेवी गाउपालिका वडा नम्बर-३ मा अवैध रुपमा लुकाइराखेको ठूलो परिमाणको चिनी बरामद गरेको छ । प्रहरीको सहायतामा मर्चवारमा अवैध रुपमा लुकाई राखेको १ सय ४७ बोरा चिनी बरामद गरेको हो ।
प्रतिबोरा ५० किलोको दरले ७ हजार ३ सय ५० किलो चीनी बरामद भएको हो जसको बजार मूल्य प्रतिकिलो ११० रुपैयाँको दरले ८ लाख ८ हजार ५ सय रुपैयाँ पर्न आउँछ । यद्यपी भन्सारमा भने व्यवसायीहरुले प्रतिकिलो ६० रुपैयाँ घोषणा गर्ने गरेका छन् । यो मूल्यमा भन्सार महसुल र अन्य कर तिर्नुपर्ने हुन्छ ।
भैरहवा भन्सार कार्यालय स्रोतका अनुसार बिना बिल बिजक र सम्बन्धित धनि बिना नै अवैध रुपमा लुकाइरेखको चिनी बरामद गरेको हो । बरामद भएको चिनी भन्सार कार्यालयले अब हकदाबीको लागि सूचना जारी गर्नेछ । यदी सूचनामा बिजक सहित कसैले पनि दाबी नगरे चिनी लिलामी गरिनेछ ।
मर्चवार तस्करीको हिसाबले निकै संवेदनशिल स्थान हो । जहाँ राजनितक नेतृत्वले समेत तस्करहरुलाई संरक्षण गर्नुपर्ने दबाब छ । सो क्षेत्रमा गस्ति नगर्न भन्सार कार्यालयलाई समेत दबाब पर्ने गर्छ । ठूलो दबाबको बिच भन्सार कार्यालयले छापा मारेको कार्यालयका एक कर्मचारीले सिंहदरबारलाई जानकारी दिए ।
सरकारले चिनिमा भन्सारको मूल्य बढाएसँगै भारतबाट चिनि तस्करी गरेर सिमावर्ति क्षेत्रमा जम्मा गरेर राख्ने र विस्तारै देशभर वितरण गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्