काठमाडौं । नेपाल धितोपत्र बोर्डका कारण बीमा कम्पनीहरु संकटमा परेका छन् । धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न अनुमति नदिँदा बीमा कम्पनीहरु अप्ठेरोमा परेका हुन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना पेश गर्दै हकप्रदको प्रस्ताव गरेका थिए । बीमा प्राधिकरणको स्वीकृति लिएर हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका आधा दर्जन कम्पनीहरु बर्ष भन्दा बढी समयदेखि हकप्रद सेयरको अनुमति कुरिरहेका छन् ।
बीमा कम्पनीहरुको हकप्रद सेयर किन रोकिएको हो ? भन्ने प्रश्नको जवाफमा बोर्डका अध्यक्ष महेश बरालले भने–यस बिषयमा अफिसमा कुरा भैरहेको छ ।’
धितोपत्र बोर्डले भने ‘अध्यक्ष नभएको’ भन्दै हकप्रद सेयरको अनुमति रोकेको छ । तर यहिबिचमा धितोपत्र बोर्डले २०८१ असार १९ गते आँखुखोला जलविद्युत कम्पनीलाई १:१.५ को अनुपातमा, हिमालय उर्जा विकास लिमिटेडलाई असार ७ गते १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति दिईसकेको छ ।
तर बोर्डले बलियो नियामक निकायको अण्डरमा रहेका बीमा कम्पनीहरुको हकप्रद सेयर भने रोक्दै आएको छ । प्राधिकरणले हकप्रद रोक्दा कम्पनीको संस्थागत सुशासन र व्यवसाय प्रवर्द्धनमा समस्या आईसकेको एक बीमा कम्पनीका सीईओले बताए । ‘हामी राम्रो रेगुलेशनमा बसेका कम्पनी हौं, जलविद्युत कम्पनीले हकप्रदको अनुमति पाउँदा हामीलाई रोकेर राखियो, पुँजी पुर्याउनुपर्ने अनिवार्य सर्त पुरा नहुँदा हामीले बीमा प्राधिकरणको कारवाही भोग्नुपर्ने अवस्था आयो ।’, बोर्डमा हकप्रदको आवेदन दिएको एक बीमा कम्पनीका सीईओले सिंहदरबारसँग भने ।
बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल २०८० पुस २० गते सकिएको थियो । सो मितिबाट हालसम्म अर्थ मन्त्रालयको सहसचिवले नै बोर्डको नेतृत्व गरिरहेका छन् । तर यसरी बोर्डमा जाने कर्मचारीहरुले पनि स्वार्थका फाइल मात्रै अघि बढाउने गरेका छन् ।
हमालपछि रितेश शाक्यले बोर्डमा कामकाजी नेतृत्व गरे । कानुन अनुसार अर्थका प्रतिनिधी नै बोर्ड अध्यक्ष बन्ने व्यवस्था आएपछि नरेन्द्र राना पनि केहि समय बोर्डको अध्यक्षता गरे । रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ आईपीओलाई अनुमति दिएपछि उनी पनि विवादमा तानिए ।
रानापछि बोर्डमा अध्यक्ष बनेर आएका अर्का सहसचिव महेश बरालले पनि बीमा कम्पनीहरुको हकप्रदबारे कुनै चासो नदेखाए ‘सेटिङ’का फाइल मात्रै हेर्न थालेको आरोप छ । उनले बोर्ड अध्यक्षको कार्यभार सम्हालेको तीन हप्ता पनि नपुग्दै केहि लाइसेन्स वितरणको निर्णय गरिसकेका छन् । बरालले अझै केहि लाइसेन्सबारे बोर्डमा सोधिखोजी गरेका छन् तर बीमा कम्पनीहरुको अड्किएको हकप्रद निष्काशनको फाइलबारे भने उनले पनि कुनै चासो देखाएका छैनन् ।
कुन कम्पनीले कहिले दिए हकप्रदका लागि आवेदन ?
हकप्रद सेयर निष्कासनका लागि ८ वटा इन्स्योरेन्स कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेका छन् । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स कम्पनी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पाेरेसन(एलआईसी)ले हकप्रद सेयरका लागि आवेदन दिएका छन् ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १०: ६.६ अनुपातमा हुन आउने ९६ लाख ३१ हजार २ सय २०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्न निवेदन दिएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरको मूल्य जम्मा ९६ करोड ३१ लाख २२ हजार ०२२ रुपैयाँ रहेको छ । कम्पनीले सो सेयर मिति २०८० कात्तिक २ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
त्यसैगरी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १:०.१७ अनुपातले हुने जम्मा ७३ लाख ३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले सो सेयरमा जम्मा ७३ करोड ३ लाख २० हजार रुपैयाँका लागि मिति २०८० फागुन २२ गते आवेदन पेश गरेको थियो ।
त्यसैगरी, नेको इन्स्योरेन्स कम्पनीले २०८० चैत ६ गते १:०.२५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न आवेदन पेश गरेको थियो । कम्पनीले ५० लाख ३० हजार ९ सय १.५५ कित्ता सेयरको ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको आवेदन पेश गरेको थियो ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि १:०.४२ को अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३ सय २.४८ कित्ता हकप्रद सेयरका लागि आवेदन दिएको थियो । कम्पनीले सो सेयरका लागि २०८१ जेठ २३ गते १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको आवेदन धितोपत्र बोर्डमा आवेदन बुझाएको थियो ।
प्रभु इन्स्योरेन्स कम्पनीले लिमिटेडले १:०.५०१५ को अनुपातमा ८३ लाख ५० हजार १३५।४४ कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा २०८१ असार १९ गते ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ रहेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले १:०.२७ अनुपातमा हुन आउने १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्न २०८१ असार २३ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले सो सेयरका वापत १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ चुक्ता पुँजीको जोहो गर्छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले १०:४ को अनुपातमा हुने ६५ लाख ७६ हजार ९ सय ३७.७६ कित्ता हकप्रद सेयर निष्कासनका लागि २०८१ असार २४ गते ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँको आवेदन पेश गरेको थियो ।
त्यसैगरी, लाइफ इन्स्योरेन्सले १:०.८८४५१६८ अनुपातमा हुन आउने २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले सो रकमको लागि मिति २०८० असोज २९ गते २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको आवेदन बोर्डमा पेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्