काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कलमान घिसिङले दाजू र भाईको नाममा सम्पति नराखेको बताएका छन् । दाजु भाईसँग अंशबन्डा समेत भैसकेको भन्दै घिसिङले ती व्यवसायमा आफूले लाभ लिनेगरी गतिविधि नगरेको दाबी गरेका छन् ।
नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डि.आइ.जी) रमेश खरेलले मंगलबार (साउन-२९) अघि कुलमान घिसिङले भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेपछि घिसिङले प्रतिक्रिया दिएका हुन् । कार्यकारी निर्देशक घिसिङमाथी दाजूभाईको नाममा कम्पनी खडा गरेर अनुचित लाभ लिएको आरोप लागेको छ ।
पूर्वनायव महानिरीक्षक खरेलले स्पेस फोरके टेलिभिजन ‘जनता जनार्दन’ कार्यक्रम मार्फत कुलमानले भ्रष्टाचार गरेको भन्दै केहि प्रमाणहरु सार्वजनिक गरेका थिए । खरेलले सोहि प्रमाणको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् । उजुरी दर्ता गराएको केहि समयमा नै उनले केहि प्रमाणहरु सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
उजुरी दर्ता भएपछि कुलमानले प्रतिक्रिया दिदैं आफ्नो मानमर्दन गर्ने उदेश्यले उजुरी हालिएको बताएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय ईमान्दारी पूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन् ।’
प्रतिक्रिया दिनुहोस्