Shikhar Insurance
National Life

सभामुख घिमिरे सरकारको निर्देशनमा चलेको रास्वपा सांसदहरुको आरोप

सिंहदरबार संवाददाता
२०८१ श्रावण २९, मंगलवार १८:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभामुख देवराज घिमिरेलाई सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सभामुख घिमिरेले सरकारको निर्देशनमा आफूहरुको आवाज दबाउन लागेको आरोप लगाएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकको आकस्मिक समयमा रास्वपा सांसद हरि ढकालले विद्युत प्राधिकरणले उठाउनुपर्ने बक्यौता रकमका बारेमा बोल्दैगर्दा सभामुख घिमिरेले विषयकेन्द्रित नभएको भन्दै बोल्न रोक लगाएका थिए । त्यसपछि रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) समेतका सांसदहरुले बैठक अवरोध गरेपछि सभामुखले सांसद ढकाललाई बाँकी कुरा राख्न दिएका थिए ।

यसै प्रकरणलाई लिएर रास्वपा सांसदहरुले सभामुखको भुमिकाप्रति आशंका व्यक्त गरेका हुन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रास्वपाका सांसद हरि ढकालले भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक विषय भएको बताए । उनले आफूले विद्युतको वक्यौता महशुल उठाउनुपर्छ भन्न लाग्दालाग्दै सभामुखले माइकको लाइन काट्नुभएको भन्दै संसदमा महशुल उठाउनुपर्छ भन्न नपाइने हो भनि प्रश्न गरे । उनले भ्रष्टाचारको विषय संसदमा उठाउन खोज्दा सभामुखबाट माइक काटिनु आपत्तिजनक भएको बताए ।

उनले भने, ‘भ्रष्टचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक हो । यो देशको महारोग त्यही होइन ? महशुल उठाउने कुरा २२ अर्ब घटेर १६ अर्ब भएको छ । १६ अर्ब घटेर ६ अर्ब भएको छ । अनि मैले बिजुली छुनेबित्तिकै सभामुखले लाइन काट्नुहुन्छ । छुनै नहुने बिजुली ? महशुल उठाउनुपर्छ भन्नै नहुने सदनमा ? त्यसलाई विशेष समय छुट्याउनुपर्ने ? अर्कै समय छुट्याउनुपर्ने ? इन्टेनशनली काटेर बोल्नै दिनुभएन । भ्रष्टाचार गर्न खोज्नेहरुलाई पनि कारबाही गर्नुपर्छ । भ्रष्टाचार गर्नु मात्रै अपराध होइन । गर्न खोज्नेहरु पनि अपराधि हुन् । समितिहरुमा भ्रष्टाचार गर्न खोजेको देखिन्छ तिनीहरुलाई पनि छानवीन हुनुपर्छ ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख देवराज घिमिरेले सरकारले दिएको निर्देशन लागू गर्न लागेको आरोप लगाए । उनले आफूहरुलाई दुई तिहाईको सरकारले दम्भ देखाउने कोशिस गरेको भान भएको बताए । उनले सभामुखले आफ्नो पदीय मर्यादा र सांसदहरुको अधिकारको समेत ख्याल नगरी सांसदलाई बोल्न नदिइएको बताए ।

उनले भने, ‘सांसदहरुले जनताको कुरा सम्मानित सदनमा राख्दै गर्दा सरकारले कतै दुई तिहाईको दम्भ देखाउने कोशिस गरेको हो कि भन्ने हामीलाई भान भयो । सभामुखले आफ्नो पदीय मर्यादा र सांसदहरुको अधिकारको पनि न्युनतम ख्याल नगरिकन सदनले बनाएको संसदीय नियमावली २०७९ को दफा १५ भित्र रहेर आफ्नो कुरा, जनताका आवाज राख्दै गर्दा सभामुख जसरी प्रश्तुत हुनुभयो, दुई तिहाइको सरकारले जस्तो निर्देशन दिएको थियो त्यो निर्देशनको लागू गर्न खोजिएको हो कि भन्ने हामीलाई भान भएको छ ।’

उनले जनप्रतिनिधिबाट संसदमा मुखरित हुने जनताको आवाज दबाउन खोजिएको भन्दै रास्वपाको संसदमा उपस्थित हुन्जेलसम्म आवाज नदब्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्