काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि जारी गरेको एकिकृत निर्देशनमा सीईओ रिक्त भएको तीन महिनाभित्रै अनिवार्य रुपमा नयाँ सीईओ नियुक्त गरिसक्नुपर्ने व्यवस्था छ । तर नेपालको एक मात्रै पूर्वाधार विकास बैंक अर्थात नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सीईओ खाली भएको सात महिना कटि सकेको छ । तर पनि निफ्राले नयाँ सीईओ पाउन सकेको छैन ।
तलब सुविधामा चित्त नबुझेको भन्दै २०८० पुस २९ गते तत्कालिन सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका थिए । खतिवडाको राजीनामा माघ १ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको थियो ।
निफ्राले नयाँ सीईओका लागि चैत १४ गते आवेदन पनि खुलायो । तर त्यो आवेदन औपचारिकतामा मात्रै सिमित बन्यो । निफ्रा बोर्डले पुन: जेठ २१ गते अर्को सूचना प्रकाशित गरेको थियो । पहिलो आवेदनका अवधीमा दरखास्त दिनेहरुले पनि पुन: आवेदन दिनुपर्ने भनिएको दोश्रो आवेदन पनि १४ दिन थपिएको थियो ।
त्यति गर्दा पनि निफ्राले सीईओ नपाएपछि अहिलेसम्म निमित्त सीईओकै नेतृत्वमा कम्पनी चलाईरहेको छ । अब प्रश्न उठ्छ, के दुई पटक आवेदन माग गर्दा पनि निफ्राको सीईओ बन्न योग्यहरुले आवेदन नदिएकै हुन् त ? के नेपालको बैंकिङ क्षेत्रमा निफ्राको सीईओ बन्न योग्य बैंकर नै छैनन् त ? वा योग्यहरुले निफ्राको सीईओ बन्न किन आवेदन दिएनन् त ?
यी प्रश्नहरुको घेरामा निफ्राको नेतृत्व आईपुगेको छ ।
अब प्रश्नहरुको घेरामा निफ्राको नेतृत्व मात्रै छैन्, नेपाल राष्ट्र बैंक पनि अब गम्भिर प्रश्नको घेरामा छ । आफैंले बनाएको नियम उल्लंघन भएको दृश्य हेरेर नेपाल राष्ट्र बैंक किन बसिरहेको छ ? किन राष्ट्र बैंकले निफ्रामा सीईओ रिक्त भएको सात महिना बितेको पत्तै पाएन ?
निफ्रामा सात महिनादेखि सीईओ रिक्त छ, नेपाल राष्ट्र बैंक के गरेर बसिरहेको छ ? भन्ने सिंहदरबारको प्रश्नमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेले भन्नछन्–‘हामी कानुन अनुसार कारवाही गर्छौं । नयाँ सीईओ नियुक्तीका लागि प्रोसेस सुरु गरेको भन्ने थियो तर लामो समयसम्म प्रोसेसमै रुमलिने कुरा ठिक होइन्, राष्ट्र बैंकले आवश्यक कदम चाल्छ ।’
नेपालमा ठूला विकास पूर्वाधारहरुमा लगानी गर्न भन्दै ठूलै तामझामसहित स्थापना गरिएको निफ्रा पछिल्लो समय कमजोर बन्दै गएको छ । निफ्राले पछिल्लो समय उदेश्य अनुसारको लगानी विस्तार गर्ने भन्दा पनि बैंक तथा वित्तिय संस्थाहरुमा मुद्धति निक्षेप राखेर बस्दै आएको आरोप छ ।
निफ्रामा कसको लगानी कति ?
निफ्राको सबै भन्दा ठूलो लगानीकर्ता नेपाल सरकार हो । नेपाल सरकार, अर्थ मन्त्रालयले निफ्रामा १० प्रतिशत लगानी छ र सरकारी प्रतिनिधीका रुपमा सह सचिव श्रीकृष्ण नेपाल निफ्राको बोर्डमा छन् ।
नेपाल लाइफको ८.९५ प्रतिशत लगानी छ भने ग्लोबल आइएमई बैंकको ५.४८ प्रतिशत लगानी छ । एनआईसी एशिया बैंकले ५ प्रतिशत लगानी गरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत लगानी गरेको छ ।
प्रभु बैंकको ४.८२ प्रतिशत लगानी रहेको निफ्रामा एलआईसी नेपालको ४.२० प्रतिशत लगानी छ । नेपाल पुनर्बीमा कम्पनीले २.४७ प्रतिशत लगानी गरेको छ भने एशियन लाइफको १.७५ प्रतिशत लगानी छ । इमर्जीङ नेपालले १.२५ प्रतिशत लगानी गरेको निफ्रामा नितेश अग्रवालको १.२१ प्रतिशत लगानी छ । कम्पनीमा सर्वसाधारण लगानीकर्ताहरुको ४० प्रतिशत लगानी रहेको छ ।
बोर्डमा को को ?
निफ्रा सञ्चालक समितिको अध्यक्षमा विशाल ग्रुपका अनुज अग्रवाल छन् । सञ्चालकहरुमा अर्थ मन्त्रालयका सह सचिव श्रीकृष्ण नेपाल, लालमणि जोशी, रत्नराज बज्राचार्य, लिमा अधिकारी र प्रविन सुवेदी रहेका छन् ।
ग्लोबल आइएमई बैंकको तर्फबाट सञ्चालक बनेका रत्नराज बज्राचार्यले बैंकको सीईओ छाडेको केहि समय बितिसकेको छ, यद्यपी उनी निफ्राको बोर्डमै छन् ।
प्रतिक्रिया दिनुहोस्