Shikhar Insurance
National Life

समकक्षता प्रमाणपत्र लिन अल्झाउनु नहुनेमा सांसदहरुको ध्यानाकर्षण

सिंहदरबार संवाददाता
२०८१ श्रावण २३, बुधबार १८:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । सांसदहरुले विद्यार्थीहरुलाई समकक्षता प्रमाणपत्र लिन अल्झाउने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले विदेशी विश्वविद्यालयमा पढेर आएका विद्यार्थीहरुलाई समकक्षता दिन अल्झाउने गरिएको बताएका हुन् । सांसदहरुले विद्यार्थीहरुलाई व्यक्तिगत इगोको आधारमा विद्यार्थीहरुलाई समकक्षताको प्रमाणपत्रबाट बञ्चित गरिएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले व्यक्तिगत इगोको कारण नेपालमा समकक्षताको प्रमाणपत्र नदिने गरिएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । समकक्षता दिन पनि व्यक्तिअनुसार विभेदको व्यवहार गरिएको उनको भनाई छ ।

उनले भने, ‘विदेशका विश्वविद्यालयबाट दिक्षितहरुलाई समकक्षता नदिने । नदिने कसरी भन्दाखेरी व्यक्तिगत इगोको आधारमा । आफूले भन्दा राम्रो नम्बर ल्यायो भनेर । व्यक्ति विशेषका कारणले कुनै विश्वविद्यालयको समकक्षता नदिने, कुनैको दिने यावत कुराहरु भएका छन् । समकक्षता धेरै ठूलो समस्या छ है । कि त बाहिर पढेर नओओ भन्नुपर्‍यो । होइन भने यहाँ अड्काउने काम भएको छ ।’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले समकक्षता दिनलाई अल्झाउनु नहुने बताइन् । उनले विद्यार्थीहरुले विदेशमा पढेर ल्याएको डिग्री नेपालकै सम्पती भएको भन्दै समकक्षतामा देखिएको समस्यालाई सल्ट्याउनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘समकक्षतामा अल्झाउने काम नगरियोस् । नेपालकै नागरिक, नेपालकै विद्यार्थीले कुनै ठाउँमा गएर डिग्री लिएर आउँछ भने त्यो त राज्यकै सम्पती हो नि । त्यसलाई धेरै अल्झाउने काम नगरौँ । समस्या धेरै छ । यसलाई सल्टाउनुपर्छ ।’

त्यसैगरी, नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले समकक्षताको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले नै दिनुपर्ने धारणा राखे । उनले नक्कली डिग्री र सर्टिफिकेटहरु पनि आउने गरेको भन्दै समकक्षता दिने विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा ध्यानाकर्षण गराए । उनले भने, ‘समकक्षता त्रिभुवन विश्वविद्यालयकै माध्यमबाट अगाडी बढाउनु बढी उपयुक्त हुन्छ । समकक्षताको पाटोलाई हल्का ढंगले लिनु हुँदैन । दु:ख दिनु हुँदैन एउटा कुरा हो । भारतका विभिन्न विश्वविद्यालयका नामबाट सर्टिफिकेट प्राप्त हुन्छ । विद्यावारिधि गर्ने विद्यार्थीहरु विभिन्न सेवामा हुनुहुन्छ । रिसर्च कहाँ गर्नुभयो पनि थाहा छैन । हिँड्दा हिँड्दै मान्छे डाक्टर भइसकेको छ । हल्का विषय होइन ।’

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले विदेशको जुनसुकै विश्वविद्यालयबाट ल्याएको डिग्रीमा त्रिभुवन विश्वविद्यालयले समकक्षता दिनु नहुने धारणा राखिन् । उनले सम्बन्धित विश्वविद्यालयको बारेमा पनि जानकारी लिनुपर्ने बताइन् । उनले भनिन्, ‘देशको शिक्षा क्षेत्र फितलो भयो । यसलाई स्वीकार्नै पर्छ । समकक्षताको विषय गम्भीर विषय हो । यसमा कुन, कहाँको विश्वविद्यालय कस्तो छ ? जस्तोसुकै विश्वविद्यालयको डिग्री ल्यायो अनि त्रिभुवन विश्वविद्यालयसँग समकक्षता गर्न मिल्छ ? । पिएचडी गर्ने मान्छे कस्ता–कस्ता छन् त्यो पनि हामीले देखेका छौँ । कहाँबाट ल्याउँछ ? यि कुराहरुलाई गम्भीरतापूर्वक लिनुपर्‍यो ।’

उनले देशको शिक्षा क्षेत्र फितलो भएको भन्दै यसप्रति सबैले ध्यान पुर्‍याउनुपर्ने बताइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्