काठमाडौं । दुई वटा लघु बीमा कम्पनीहरुले ४५ करोड रुपैयाँको आईपीओ जारी गर्ने भएका छन् । धमाधम व्यापार विस्तारमा केन्द्रित रहेका गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले २२ करोड ५० लाखका दरले आईपीओ जारी गर्न लागेका हुन् ।
दुबै कम्पनीले आ आफ्नो बार्षिक साधारण सभाबाट आईपीओ निष्काशन गर्ने निर्णय गरेर प्रारम्भिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा आवेदन दिईसकेका छन् । प्राधिकरणले प्रारम्भिक स्वीकृति दिएपछि दुबै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेका छन् ।
गार्डियन माइक्रो लाइफले २०८० साल फागुन ६ गते साधारण सभा गरि आईपीओ ल्याउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार कम्पनीले प्रारम्भिक स्वीकृतिका लागि २०८१ साउन ९ गते प्राधिकरणमा निवेदन दिएको हो ।
त्यस्तै, नेपाल माइक्रोले २०८० साल फागुन २२ गते साधारण सभा गरि आईपीओ ल्याउने निर्णय गरेको थियो । नेपाल माइक्रोले पनि २०८१ साउन ९ गते नै प्राधिकररणमा प्रारम्भिक स्वीकृतिका लागि आवेदन दिएको हो ।
कोशी प्रदेशको बिराटनगर केन्द्रिय कार्यालय रहेको गार्डियन माइक्रो लाइफले जीवन बीमा व्यवसाय गर्छ भने बागमति प्रदेशको भरतपुरमा केन्द्रिय कार्यालय रहेको नेपाल माइक्रोले निर्जीवन बीमा व्यवसाय गर्छ । दुबै कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनी स्थापनाका क्रममा संस्थापक लगानीकर्ताहरुले ५२ करोड ५० लाख रुपैयाँ पुँजी चुक्ता गरिसकेका छन् । बाँकी रहेको २२ करोड ५० लाख रुपैयाँ पुँजीका लागि भने आईपीओ निष्काशन गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्