इलाम । इलाममा आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।
माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग छन् । गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन् । उनको टोलमा ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो ।
माईजोगमाई गाउँपालिका–२ लप्सीबोटेका किसान कुमार राई पनि खुसी छन् । राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा ५० लाख ५५ हजार आठ सय ८३ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी बजुरखोलामा कुलो निर्माण भएको छ । योङहाङ र राई प्रतिनिधि उदाहरण मात्र छन् । इलामका विभिन्न पालिकामा सञ्चालितका साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन् । इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।
सूर्योदय नगरपालिकामा ४ करोड १९ लाख २६ हजार छ सय ३४ को लागतमा १०, इलाम नगरपालिकामा ६ करोड ८६ लाख ५१ हजार ६४ को लागतमा नौ, माङसेबुङ गाउँपालिकामा ३ करोड ४२ लाख ९४ हजार छ सय ६४ को लागतमा आठ, माई नगरपालिकामा ४ करोड पाँच लाख ९८ हजार चार सय ७५ को लागतमा सातवटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिए ।
योजनाबाट इलामका एक हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका दुई हजार एक सय ४२ परिवार लाभान्वित भएका छन् । योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०/२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्