काठमाडौं । बैंक तथा वित्तिय संस्थालाई आर्थिक वर्ष २०८०/ ०८१ को नउठेको सावाँ ब्याज उठाउने मिति साउन मशान्तसम्म थप भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति मार्फत सावा ब्याज संकलनको समय थप गरेको हो ।
मौद्रिक नीति अनुसार बैंकले सोमबार सर्कुलर समेत जारी गरिसकेको छ । सर्कुलर अनुसार अब बैंक तथा वित्तिय संस्थाहरुले गत आर्थिक वर्षमा असुल हुन नसकेको ऋणको सावा ब्याज साउन मशान्तसम्म ताकेता गरेर उठाउन सक्ने भएका छन् ।
राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ, ‘इजाजत पत्र प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा पुर्वाधार विकास बैंक, इजाजत पत्र प्राप्त संस्थाको लेखानीति बमोजिम आ.व. २०८०/८१ मा प्रोदभावी आधार (Accural Basis) मा लेखांकन गरिएको व्याज आम्दानी मध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको व्याज रकम बाहेक अन्य प्राप्त हुन बांकी व्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सन्चित मुनाफा (Retained Earning) खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ ।’
यसअघि बैंक तथा वित्तिय संस्थाहरुले साउन १५ गतेसम्म मात्रै यस्तो सुविधा प्राप्त गर्दै आएका थिए । अहिलेको व्यवस्थाले बैंक तथा वित्तिय संस्थाहरुको खराब कर्जाको अनुपात घटी नाफामा सुधार हुने अनुमान गरिएको छ । जसले लगानीकर्ताहरुलाई समेत फाइदा पुग्ने देखिन्छ ।
त्यसैगरी, ‘हालसम्म एनएफआरएस (NFRS) लागु भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा आ.व. २०८०/८१ मा पाकेको व्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुले आ.ब. २०८०/८१ को नाफा नोक्सान हिसाबमा आम्दानी जनाउन पाउनेछन् ।’ जसबाट लघुवित्तका लगानीकर्ताहरु समेत लावान्भित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्