कर्णाली । आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशबाट ४ अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा ४ अर्ब ११ करोड ७७ लाख ८१ हजार रकम बराबरको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कृषिजन्य उपज (तरकारी, सुन्तला, फलफुल, मसलाबाली, मह आदि) २ अर्ब २६ करोड ६७ लाख ११ हजारको प्रदेशबाहिर निर्यात गरिएको जानकारी दिए । त्यस्तै, पशुपंक्षीजन्य उपज (खसी, दुध, माछा, मासु, घ्यू, राडीपाखा, छुर्पी आदि) १ अर्ब ८४ करोड ९० लाख ७० हजारको निर्यात गरिएको उनले बताए ।
कर्णाली प्रदेशको मूल प्रवेशद्वारा बबई र कपुरकोट नाकाबाट लिइएको तथ्याङ्कअनुसार कृषि तथा पशुपंक्षीजन्य उपजबाट ४ अर्ब ११ करोड ७७ लाख ८१ हजार सङ्कलन भएको मन्त्रालयका सचिव टिकाराम थापाले जानकारी दिए ।
यसैगरी गत आवमा छ बैंक तथा आठ सहकारीबाट ९९ करोड ९७ लाख १४ हजार पुँजी परिचालन गरी प्रदेश सरकारले ३ करोड ४० लाख २३ हजार ब्याज अनुदान भुक्तानी गर्दा यसबाट कर्णालीका नौ सय ७१ व्यावसायिक कृषक लाभान्वित भएको उनले जानकारी दिए ।
कार्यक्रममा कृषिमन्त्री विनोदकुमार शाहले कृषक र कृषि व्यवसायीलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उत्पादनमा आधारित प्रोत्साहन र साना तथा मझौला कृषिमा आधारित उद्योग एवं उद्यमीलाई ब्याज अनुदान सहयोग गरिने बताए । कृषि क्षेत्रमा ठूला खालका भौतिक पूवाधार, शीतभण्डार, सङ्कलन केन्द्र, सोलार स्टोर, प्रशोधन उद्योग आदि निर्माणपूर्व सम्भाव्यता अध्ययन गर्ने र ठूला योजनाभन्दा साना तथा मध्यम योजना कार्यान्वयनलाई प्राथमिकता दिइने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्