काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित २ पकेट फरेस्टमा ५ सय ५० वृक्षरोपण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं। १३ सँगको सहकार्यमा सो वृक्षरोपण गरेको हो । सो अवसरमा मिस नेपाल २०२४ का प्रतियोगीहरुले समेत उत्साहजनक रुपमा सहभागिता जनाएका थिए, जसले अभियानको प्रभाव र पहुँच बढाउन थप भूमिका खेलेको छ । अर्थपूर्ण वातावरणीय परिवर्तनका लागि सामुदायिक साझेदारीको शक्तिलाई यसले संकेत गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्ष सम्म सावधानीपूर्वक हेरचाह र सम्भार गरिने छ । प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वस्थकर सहरी वातावरण निर्माण गर्नमा साइमेक्सको प्रतिबद्धतालाई यसले जोड दिन्छ ।
कालिमाटीमा अवस्थित बीवाईडी पकेट फरेस्टको प्रभाव दीर्घकालीन रुपमा रहने छ । यसबाट ५ वर्ष पछि २९५ टन अक्सिजन उत्पादन हुनेछ भने १११ टन कार्बन स्टोर हुने, १० वर्षपछि ५९१ टन अक्सिजन उत्पादन हुने, २२२ टन कार्बन स्टोर हुने, २० वर्षपछि १ हजार १ सय ८२ टन अक्सिजन उत्पादन हुने र ४ सय ४३ टन कार्बन स्टोर हुने कम्पनीले जनाएको छ ।
‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट अभियान अन्तर्गत कालिमाटीमा सफलतापूर्वक ५५० वृक्षरोपण गरेकोमा हामी उत्साहित भएका छौँ ।’, साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले भने,‘यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो । यो प्रोजेक्टलाई वास्तविकतामा परिणत गर्नका लागि गर्नुभएको अमूल्य सहयोगप्रति द हिडन ट्रेजर, मिस नेपाल २०२४ का प्रतियोगी, द रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगर वडा नं. १३ लाई हामी कृतज्ञता व्यक्त गर्दछौ ।’
‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियानले विशेषतः सहरी क्षेत्रमा हरियाली निर्माण गर्न र वातावरणीय दिगोपनाका लागि योगदान गर्ने लक्ष्य लिएको छ । यसबाट साइमेक्सले वातावरणीय ह्रासको हानिकारक नतिजाहरुको लामो समय देखि सामना गरिरहेको काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभावलाई कम गर्न खोजेको छ ।
‘हामीले वृक्षरोपण गरेका दुई पकेट फरेस्ट समुदायका लागि शीतलताको स्रोत तथा सयौं चरा र हजारौ किरा फट्याङग्राहरुको बासस्थान हुनेछ । बीवाईडी र द हिडन ट्रेजरको टिमसँग मिलेर यो प्रभाव सिर्जना गर्न पाएकोमा हामी धेरै आभारी छौँ’ द रिभोलुसन प्रोजेक्टका को–फाउन्डर आयुष देव पन्तले भने ।
वृक्षरोपणमार्फत समग्र र प्रभावकारी वन जंगल निर्माण सुनिश्चित गर्दै द रिभोलुसन प्रोजेक्टले दिगो मियावाकी प्रविधिको प्रयोग गरेको छ । घना र विविध वृक्षरोपणको विशेषता सहितको यो दृष्टिकोण द रिभोलुसन प्रोजेक्टको हो र यसले कालिमाटीमा अवस्थित दुई बीवाईडी पकेट फरेस्टमा एक सम्पन्न इकोसिस्टम विकासमा भूमिका खेल्ने विश्वास कम्पनीले राखेको छ ।
‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’अभियान यही लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण पाइला हो, जसले हाम्रो वातावरणलाई संरक्षण र पुनस्र्थापना गर्नका लागि सामूहिक प्रयासलाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्