नेपाल राष्ट्र बैंकले साउन ११ गते चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछि त्यसले सिँगो अर्थतन्त्र चलायमान बनाउने प्रतिक्रियाहरु आईरहेका छन् । निजी क्षेत्रका सबै जसो छाता संस्थाहरुले मौद्रिक नीतिको प्रशंसा गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले पनि ‘समय सापेक्षा मौद्रिक नीति’ भनेका छन् । अर्थमन्त्री बिष्णु पौडेलले पनि मौद्रिक नीति राम्रो आएको भन्दै राष्ट्र बैंकलाई धन्यवाद दिएका छन् ।
सेयर बजारमा ऐतिहासिक उत्साह देखिँदैछ । सबैलाई रिझाउन सफल मौद्रिक नीतिबारे सिंहदरबारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रसँग गरिएको कुराकानीको सारः
लामो रस्सा कसि जस्ता घटनाक्रमहरु पार लगाउँदै राष्ट्र बैंकले मौद्रिक नीति ल्यायो । यो मौद्रिक नीति खास कस्का लागि थियो ?
लामो रस्साकस्सी भन्दा पनि त्यो एउटा प्रोसेस हो । राष्ट्र बैंकले वार्षिक रुपमा मौद्रिक नीति जारी गर्ने गर्दछ । हाम्रो कार्यविधि अनुसार बर्खान्त अर्थात आर्थिक वर्ष समाप्त भएपछिको १५ दिनभित्र ल्याउनुपर्ने व्यवस्था अन्तर्गत नै साउन ११ गते मौद्रिक नीति ल्याएका हौं ।
लाभदायीका ‘राडार’भित्र १,२,३ कस्लाई हेरेर यो नीति ल्याउनु भयो ?
लाभदायीको राडार भन्दा पनि समग्र अर्थ व्यवस्थाको लागि ल्याइएको हो मौद्रिक नीति हो । यसमा व्यवसायी, उद्योगी, आम जनमानस र तपाई हामी सबै पर्छौं ।
तर झट्ट हेर्दा चाँही सेयर बजार, अटोमोबाइल र घरजग्गा यस्को अधिक केन्द्रमा देखिएको भन्ने बजारमा सुनिन्छ । यी सबै चाँही ननप्रोडक्टिभ क्षेत्र हुन् भनेर तपाईहरुले नै भन्ने गर्नुभएको छ नि ?
विगत दुई वटा आर्थिक वर्षको कुरा गर्ने हो भने नेपाल राष्ट्र बैंकले कस्यो, घाँटी रेट्यो, पहिरो गयो भन्ने जस्ता समाचारहरु विभिन्न सञ्चारमाध्यम मार्फत सुनिरहेका थियौं । तपाईँले अहिले ३ वटा क्षेत्रले प्राथमिकता धेरै पायो भन्नुभयो । तर मौद्रिक नीतिले सेयर बजार, अटोमोबाइल र घरजग्गालाई त्यस्तो ‘स्पेसिफिक फोकस’ गरेको छैन । मौद्रिक नीतिमा अर्थतन्त्रका अन्य क्षेत्रहरुलाई पनि आवश्यकता अनुसार प्राथमिकता दिएका छौं । तर ती तीन विषय चाँही अलि बढी चासोमा देखिएका मात्रै हुन् ।
तर सेयर बजारले त ‘पोजेटिभ रियाक्ट’ गरिसक्यो नी ?
बजारले त मौद्रिक नीति जारी गर्नुभन्दा अघि नै ७ देखि ८ वटा वर्किङ ‘डे’मा नै अर्कै किसिमको रेस्पोन्स गरिसकेको थियो । यो राम्रै रेस्पोन्स हो ।
तपाईहरुले यस्तै किसिमको मौद्रिक नीति ल्याउँन २, ३ वर्ष किन रोकेको ? भनेर तपाईहरुको नियतमाथि प्रश्न गर्नेहरु पनि छन् है ?
हो । यो प्रश्न चाँही मैले पनि सुनिरहेको छु । कोरोनाको बेला सबै ठप्प भयो । केही मात्रामा आउट अफ बक्स प्रयोग गर्नुपर्छ भनेर हामीले खुकुलो मौद्रिक नीति ल्यायौँ । त्यो मौद्रिक नीतिको कारणबाट त्यसको ‘कन्सिक्वेन्स’ अलिकति सेयर घरजग्गा कर्जा वृद्धि भयो ।
त्यसपछिको दोस्रो, तेस्रो वर्षमा ग्रोथ ह्वात्तै माथि गएको हुनाले केही न केही मात्रामा हाम्रो विदेशी मुद्राको रिजर्भको स्थिति पनि ६ महिनाको वस्तु तथा सेवा धान्ने अवस्थामा झरिसकेको थियो । हामीले ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चितिलाई सामान्य भन्ने गर्छौ । त्यो ६ महिना, साढे ६ महिनामा आएपछि हामी पनि सजगता हुनुपर्ने भयो । त्यो तथ्यांकमा आधारित बिश्लेषण थियो । हामीले मन लागेर राति सपनामा देख्यो अनि बिहान उठेर मौद्रिक नीति तयार पारेका होइनौं । सपनामा देखेपछि बिहान मौद्रिक नीति खुकुलो पार्ने भन्ने हुदैंन ।
सरकारले यसै पाली ३ सय ४० अर्ब आन्तरिक ऋण उठाउँदैछ, तपाईहरुले साढे १२ प्रतिशत कर्जा विस्तार गर्ने भन्नु भएको छ, त्यो कसरी सम्भव हुन्छ ?
हामीले प्राइभेट सेक्टर क्रेडिट साढे १२ प्रतिशतले बढाउने भनेका छौं । त्यो भनेको ६ सय ५४ अर्ब कर्जा विस्तार गर्नु हो । सरकारले उठाउने आन्तरिक ऋण बाहेक नै ६५४ अर्ब कर्जा विस्तार गर्ने भनेका हौं । डिपोजिट ग्रोथ राम्रो भइरहेको छ । रेमिट्यान्स यसरी नै बढ्यो भने यो साल चाँही हामी आफ्नो लक्ष्य भेट्टाउन सफल हुन्छौं ।
रेमिटेन्स घट्न सक्छ भन्ने त तपार्यहरुकै प्रक्षेपण छ क्यारे फेरि ? अनि कसरी होला ?
रेमिटेन्सका केहि परम्परागत स्रोतमा समस्या आउने सम्भावना छ भनेका छौं । मलेसियामा केही पोलिसीगत इस्युहरु आइरहेका छन् । यद्यपि अहिले यमन खुल्यो भनिएको छ । अहिले कोरियाबाट पनि राम्रो पैसा आइरहेको छ । इजरायल, अष्ट्रेलियाबाट पनि आइरहेको छ । यसरी मासिक १ खर्ब नेपाली रुपैयाँ अर्ब आउँछ । त्यति पैसा आएपछि हाम्रो विदेशी मुद्राको सञ्चितिमा सन्तुलन मिल्छ । इम्पोर्टमा पनि टार्गेट हुन्छ । त्यो आयतको ग्रोथसँग चाँही सरकारको राजस्व पनि जोडिएको हुन्छ । त्यसरी हेर्दा कठिनाई हुन्छ जस्तो लाग्दैन् ।
अर्थ मन्त्रालय र तपाईहरुले पनि पहिले स्वीकारेको विषय हो, कर्जा विस्तारको प्रभाव अर्थतन्त्रमा देखिएन् । उत्पादन र रोजगारी वृद्धि नगर्ने, जीडीपीमा गतिलो योगदान नदिने कर्जा विस्तारको क्रमलाई रोक्न मौद्रिक नीतिले के-के उपाय अघि सारेको छ ?
हो, हाम्रो कर्जा विस्तारले रोजगारी सृजना गरेन्, उत्पादन बढाएन र अर्थतन्त्रमा ठूलो योगदान दिएन भनेर आलोचना भैरहेकै छ । यो विषयलाई दुई तरिकाले हेर्नुपर्छ । हामीले हेर्दा ४०-५० वर्षमा औषत ४ प्रतिशतको ग्रोथ देख्दै आईरहेका छौं । तर १५ औं र १६ औँ पञ्माचवर्षिय योजनामा ८ प्रतिशतको ग्रोथ गर्नुपर्छ भनिरहेका छौँ ।
त्यसको लागि कति पैसा चाँहिन्छ । त्यो हिसाब निकाल्छौँ । २८ हजार मेगावट बिजुली निकाल्छौँ भनेका छौं, त्यसका लागि पैसा कति चाँहिन्छ ? यी सबै कुरामा कता-कता तर्जुमा नभएको जस्तो पनि देखिन्छ । हामीले टार्गेट अलि राम्रै राख्नुपर्छ । ऋण विस्तार भएपछि त्यसको प्रभाव र योगदान अर्थतन्त्रमा देखिनुपर्छ । तर कोरोना कालमा भने कर्जा विस्तारको योगदान अर्थतन्त्रमा नदेखिएकै हो ।
त्यतिबेला ऋण लिएर ऋण तिर्ने क्रम देखियो । ऋण लिएर ऋण तिर्न थालेपछि अर्थतन्त्रमा ऋण विस्तारको योगदान देखिन्न । तर ऋण लिएर उपभोग मात्रै गर्ने हो भने पनि अर्थतन्त्रमा केहि न केहि योगदान पुग्छ
मौद्रिक नीतिबाट निर्माण व्यवसायीले लाभ पाउने देखियो, बैंकहरुले साउनसम्म उठेको ब्याजलाई गत वर्षकै आम्दानीमा गणना गर्न पाए, लघुवित्त कम्पनी र ऋणी दुबैले सहुलियत पाएका छन् । यहि विषय अलि पहिले किन आएन ? आज किन आयो ?
मौद्रिक नीति आउँनु एक दुई महिना अघिसम्म राष्ट्र बैंकलाई आरोपै आरोप थियो । निर्माण व्यवसायी मरिरहेका छन्, लघुवित्तका मानिसहरु मरिरहेका छन् । ऋणको पुनसंरचना भएको छैन्, तपाईहरु(राष्ट्र बैंक) के हेरेर बस्नु हुन्छ ? भन्ने हजार वटा प्रश्न हामीले झेल्दै आएका थियौं । हामीले गर्ने भनेको बिमारको उपचार हो ।
तपाईको आँखामा समस्या आयो भने आँखाको उपचार गर्नुपर्यो । कानमा समस्या भयो भने कानको उपचार गर्नुपर्यो । राष्ट्रिय तथ्यांक कार्यालयले पछिल्ला केहि त्रैमासिकमा नेपालको उत्पादन मुलक क्षेत्र र निर्माण क्षेत्रको ग्रोथ नेगेटिभ देखाएको थियो । त्यसैले, हामीले दुई क्षेत्रको उपचारका लागि ‘स्पेसिफिक’ उपाय अघि सारेका हौं ।
त्यो उपचारको प्रक्रिया के हो भने सरकारले उनीहरुलाई भूक्तानी दिएको छैन् । केही पैसा पाउँन बाँकी छ भन्ने कुरा आएको हुनाले मसिंरसम्म तिर्नुहोस् । त्यो तिरेको पनि त्यसमा क्याल्कुलेसन गरिन्छ भनिएको छ । अर्काे कुरा कालो सूचीसँग सम्बन्धित छ । चेक काट्ने र त्यसमा पैसा नहुने वित्तिकै कालोसूचिमा राखेर बैंक खाताहरु समेत रोक्का गरेर मात्रै समस्याको समाधान नहुने रहेछ । त्यसले त कहिले काँही थप समस्या पनि ल्याउने रहेछ भन्ने निष्कर्षका आधारमा त्यसो गरेका हौं ।
कालो सूची सम्बन्धी नयाँ व्यवस्थाले चेक कारोबारमा अविश्वास सृजना गर्ने, नगद कारोबारलाई प्रोत्साहन गर्ने देखियो । खातामा पैसा नभए पनि चेक काटेर फ्टयाईँ गर्नेहरु थप हौसिने देखियो, किन त्यस्तो गर्नु भयो ?
जोइन्ट भेञ्चर पार्टनरमध्ये एउटा कालो सूचीमा पर्दा अर्काेलाई पनि स्वतः राख्ने कुराले व्यवसायीहरुलाई मार परेको देखियो । त्यसले व्यवसायीहरु झन काम नै गर्न नसक्ने भए भन्ने व्यापक गुनासो आयो । हामीसँग एउटा ऐनको व्यवस्था पनि छ । बैंकिङ कसुर तथा सजाय ऐन अनुसार चेक अनादरलाई बैंकिङ कसुरमा राख्ने व्यवस्था छ ।
राष्ट्र बैंकले नियमावली बनाएर चेक अनादर गर्नेहरुलाई कालोसूचिमा राख्ने व्यवस्था गरेका हौं । अहिले ९० प्रतिशत मानिसहरु चेक अनादरबाट कालोसूचीमा छ । त्यसकारण चेक अनादर गर्नेलाई बैंकिङ कसुर लगाउने तर कालोसूचिमा नराख्ने भन्ने बिषय अघि सारेका हौं ।
तर पैसा नै नभएको खालि चेक दिने कुरा त आफैँमा अपराध होइन र ? त्यसरी त पैसा नभए पनि चेक काटिदिनेहरु पो प्रोत्साहित हुने भए ?
चेक अनादर गर्नेहरुलाई प्रोत्साहित गर्ने हाम्रो नीति हुदैँ होइन । त्यस्लाई कालोसूचीमा नराखेर केही पनि नगर्ने भन्ने हुदैँन । त्यसलाई अर्को किसिमको कारवाहीको व्यवस्था गर्छाै । कालो सूचीमा परेपछि खाता खुलेन, त्यहाँ भएको पैसा चलेन । पैसा जम्मा गर्न, झिक्न, कारोबार गर्न पनि पाउँदैन । त्यसले समस्या समाधान गरेन भन्ने निष्कर्षको आधारमा नयाँ व्यवस्था गरेका हौं । विस्तृत विषय सर्कुलरमा ल्याउँछौं ।
सर्कुलर चाँही कहिले जारी गर्ने हो ?
अब जारी गर्ने हो । अब त भटाभट जारी गर्ने हो । पहिले लघुवित्तको जारी गर्छौ । लघुवित्तलाई पनि समस्या छ । भएका समस्याहरुलाई सम्बोधन गरिने छ । केहि अध्ययन रिपोर्टहरुलाई पनि कार्यान्वयनमा ल्याउँछौं । सधैभरी ‘लोन’ तिर्दिन भन्न त पाईदैँन तर एकचोटीलाई पुनः तालिकीकरण पनि गर्ने भनेका छौँ । केही सम्मका लागि छोड्दिने हो ।
भनेपछि १ हप्ताको बीचमा सबै सर्कुलरहरु आइसक्छन् ?
सबै त भन्दिन् म । तर महत्वपूर्ण सर्कुलरहरु १ हप्ताभित्र आउँछन् । साउनभरीमा सबै सर्कुलर आईसक्छन् ।
केही बैंकरहरुको गुनासो छ कि एनडीएफ(नन डेरियबल फरवार्ड)मा राष्ट्र बैंक किन यति ‘रिजिड’ भयो ? तरलता फालाफाल भएको बेलामा पहिले जस्तै ३० प्रतिशत किन बनाएन् ? ब्याज तिरेर रिपो लिनु भन्दा एनडिएफ खुकुलो पारेको भए हुन्थ्यो नि ?
त्यति बेला कोर क्यापिटलको ३० प्रतिशतसम्म एनडिएफ दिएका थियौं, जतिबेला बैंकहरुको कोर क्यापिटल ८/१० अर्बको मात्रै थियो । अहिले ४०-५० अर्ब कोर क्यापिटल भएका बैंकलाई ३० प्रतिशत एनडिएफ दियो भने त ठूलो जोखिम पनि हुन्छ । हामीले बैंकहरुको कोर क्यापिटलको आधार हेरेर एनडिएफमा १५ प्रतिशतको क्याप लगाएका हौं ।
सबै बैंकहरुको कोर क्यापिटल एउटै साइजको त छैन् ? कोर क्यापिटलको साइज अनुसार एनडिएफ तोकि दिएको भए हुन्थ्यो नी त ?
बैंकहरुबाट अहिले ३०० अर्ब बढीको पैसा प्रशोचन गरेर बसिरहेका छौँ । हामीले स्ट्याबिलिटी पनि हेर्नु पर्ने हुन्छ । हामीले सोचेर, विचार गरेर नै यो नल्याएका हौँ । तर कोर क्यापिटलको आकारका आधारमा एनडिएफ दिने विषयमा भने सोच्न सकिन्छ ।
तपार्यहरुले मौद्रिक नीति ल्याउँदा वित्तीय स्थायित्वलाई हेरेर होकि बजारको आवश्यकतालाई बुझिदिएको हो ?
वित्तीय स्थायित्व त हाम्रो पहिलो प्राथमिकता हो । हामीले त्रैमासिक रिभ्युहरु मार्फत पनि धेरै विषयको सम्बोधन गर्दै आएका छौं । यस अघि पनि विभिन्न किसिमका पुँजीगत औजारहरु ल्याएका थियौँ । यसपाली साढे ५ प्रतिशतको कर्जालाई साढे १२ प्रतिशत बनाउँनु छ । किनभने सरकारले यसपाली ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने भनेको छ । अहिलेको उपायहरुले काम गरेनन् र आपत नै आईलाग्यो भने पहिलो त्रैमासिक समिक्षाबाट सुधार गर्दै जाने विकल्पहरु पनि हामीसँग छ ।
तपाईहरुले पुँजी कोषको दवावमा रहेका बैंक तथा वित्तीय संस्थाहरुका लागि प्रिफरेन्स सेयर जारी गर्न दिने भन्नु भयो, पुँजी (हकप्रद) नै थप्छौँ भन्नेलाई रोकिदिनु भयो, किन ?
हामीले एउटा सर्त र अवस्था अनुसार प्रिफरेन्स सेयर जारी गर्न दिने भनेका छौं । केहि बैंक तथा वित्तिय संस्थाहरुले माग गरेपछि हामीले हेरौं न त भनेर प्रिफरेन्स सेयरको व्यवस्था ल्याएका हौं । अर्काे कुरा पुँजी थप्ने जुन विषय छ, त्यो हामीले निर्णय नै गरेर रोकेको छैनौं ।
‘राइट इस्यु’ गर्न दिँदैनौं भनेर हामीले भनेका छैनौँ । त्यसमा छलफल गर्न सकिन्छ र केहि छलफल भैरहेको पनि छ । अहिले नै बैंकहरु ‘ओभर क्यापिटलाइज्ड’ भएकाले आरओई घटिरहेको भन्ने कुरा छ ।हकप्रदबाट पुँजी थप्न दिँदा के होला भन्नेबारे पनि सचेत भएका मात्रै हौं ।
प्रतिक्रिया दिनुहोस्