धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभामा यस्तो बताएका हुन् ।
मुख्यमन्त्री सिंहले भने,“मैले व्यवसायीहरुका समस्या बुझेको छु, उनीहरुलाई भारतबाट सामान ल्याउन समस्या भइरहेको छ । करको झन्झट छ, भन्सार कार्यालयमा दक्ष जनशक्ति अभावले पनि काम गर्न कठिनाइ भएको छ ।” मधेशमा बेरोजगारी अत्यधिक रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले यसलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताए ।
धनुषा र सिरहामा कमला नदीको बगर क्षेत्रमा खेतीपाती गरी रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको योजना रहेको उनको भनाइ थियो । मधेशमा स्थापना भएका उद्योगमा स्थानीयले रोजगारी नपाएको भन्दै उनले त्यसतर्फ ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गरे । “व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्दा स्थानीयलाई रोजगारी दिनुपर्छ”, मुख्यमन्त्री सिंहले भने । उद्योगी व्यवसायीको हकहितका लागि प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि नीति निर्माण तहमा समेत सरोकारवालालाई सहभागी गराइने उनले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्