काठमाडौं । नेपाली काँग्रेसका सांसद डा शेखर कोईरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरुले राम्रोसँग संविधानको अध्ययन नगरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताउँदै संविधान के—के कुरामा सुधार गर्ने भन्नेबारेमा भने छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको भन्दै खुशी प्रकट गरे । उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘संविधान संशोधनको कुरा गर्दा यस पटक संसदमा दुई तीन वटा कुरा आयो । यो संविधान के खराबी छ र ? यसमा कमी कमजोरी के छ ? चल्दै थियो, किन गर्ने ? भन्नेकुराहरु आए । तर उहाँहरुले एउटा कुरा पढ्नुभएको छैन जस्तो लाग्यो । १० वर्षमा यसलाई पुनरावलोकन गर्नुपर्छ भन्नेकुरा उहाँहरुले बिर्सिनुभएछ । यो संविधानमै लेखिएको छ । केके कुरामा पुनरावलोकन गर्ने भन्नेकुरा पक्कै पनि आउँछ । नेपाली काँग्रेस र एमालेको सरकार त बन्यो, यो सरकारको प्राथमिकतामा संविधान सुधार, पुनरावलोकन, परिमार्जन भन्नुस्, के गर्ने हो ? त्यसलाई प्राथमिकतामा राख्नुभएको छ ।’
सांसद कोईरालाले काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरुले खादा, माला र स्वागतमै समय बिताइरहेको बताउँदै आफूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई काममा ध्यान दिन आग्रह गरेको पनि बताए । सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट नरहेको बताए । उनले सरकारले जनतामा रहेको निराशालाई आशामा परिणत गर्न सक्नुपर्ने बताउँदै राष्ट्रलाई प्राथमिकतमा राखेर जनतामा आशा जगाउँदै आर्थिक विकासमा फड्को मार्नुपर्ने बताए ।
उनले भने, ‘मन्त्रीहरु बन्नुभएको छ नेपाली काँग्रेसबाट १० जना जानुभएको छ । खादा, माला र स्वागतमै उहाँहरुको धेरै समय बितिरहेको छ । उहाँहरु आफैँ भन्नुहुन्छ । मैले आग्रह गरेँ, मन्त्रालयको काम गर्न ध्यान दिनुस् भनेको छु । उहाँहरु सचेत भएर अघि जानुपर्छ । किनभने यसचोटी यो सरकारलाई कुनै गल्ती गरेर असफल हुने छुट छैन । कुनै किसिमको कमी कमजोरी हुन दिनु हुँदैन । किनभने दुई ठूला दल मिलेर सरकार बनेको छ । जनतामा निराशा व्याप्त छ । यो अवस्थाबाट आशा र भरोसा दिलाउनु छ । निराशा चिर्नु छ र सँगै आर्थिक विकासमा फड्को मार्नुपर्छ । यो सबै गर्न कठिन छ तर चुप लागेर बसेर हुँदैन । जनताको निराशा चिर्न आशा कसरी जगाउनसक्छौँ त्यो गर्नुपर्छ । आशा जगाउने नाउँमा राष्ट्रलाई प्राथमिकतमा राखेर अघि बढ्नुपर्छ ।’
राजनीतिक स्थायित्वका लागि संविधान संशोधन हुनुपर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने, समावेशीलाई कुनै आघात नपुग्ने गरी अघि बढ्नुपर्ने बताए । उनले संविधान संशोधन गर्दा संसदभित्रका सबै राजनीतिक दलसँग सहमति गरेर नै अघि बढ्नुपर्ने बताए । दुई तिहाई बहुमतको दम्भ गरेर संविधान संशोधन गर्न नहुने बताउँदै सांसद कोईरालाले संविधानमा भएका कमी, कमजोरीलाई सुधार गरेर लैजान नेपाली काँग्रेसले भुमिका खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्