काठमाडौं । नेपाल राष्ट्र बैंकले ३४ करोड वटा नेपाली १० रुपैयाँका नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशन गर्दै नोटको डिजाइनसहित प्रिन्टिङ, आपूर्ति र डेलिभरीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो ।
राष्ट्र बैंकबाट गत अक्टोबर २९, २०२१ मा दैनिक पत्रिकामा जारी बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका पूर्व-योग्य बोलपत्रदाताहरूलाई पुनः आह्वान गरेको हो । योग्य बोलपत्रदाताहरूले नेपाली रुपैयाँ १० मूल्यको सर्कुलेशन बैंक नोट र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बिडिङ अन्तर्गत सम्बन्धित सेवाहरू एकल चरण दुई खाममा छुट्टा-छुट्टै छापसहितको दुईवटा आवेदन हाल्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
पूर्व-योग्य बोलपत्रदाताहरूले राष्ट्र बैंकको कार्यालय, मुद्रा व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौं, नेपाल र नेपाल राष्ट्र बैंकको कार्यालय, मिन्ट डिभिजन, बबरमहल, काठमाडौंबाट बोलपत्र कागजातहरूको पूर्ण सेट खरिद गर्न सकिने बैंकले सूचना मार्फत जानकारी दिएको छ। राष्ट्र बैंक मुद्रण विभागका अनुसार आवेदन नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग, बालुवाटार, काठमाडौंमा आउँदो अगस्ट ८, २०२४ बिहान ११:०० बजेमा खुल्नेछ ।
योग्य छनोटमा परेका आवेदकले सेप्टेम्बर २, २०२४ दिनको १ बजेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यो म्याद पछि प्राप्त बोलपत्रहरू अस्वीकार गरिनेछ । छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई गरी ढुवानी समेत गरिसक्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । आवेदक कम्पनीले धितोको रूपमा अधिकतम २ करोड २० लाख रुपैयाँ राख्नुपर्नेछ । जुन बोलपत्रको वैधता अवधि भन्दा ३० दिनको लागि मान्य हुने बैंकले जनाएको छ ।
साथै, खरिद गर्ने, बुझाउने र खोल्ने अन्तिम मिति सरकारी बिदा परेमा त्यसको भोलिपल्ट काम गर्ने दिन अन्तिम मिति मानिनेछ। यस्तो अवस्थामा, बोलपत्रको वैधता अवधि र बोलपत्र जमानत बोलपत्र पेश गर्ने मूल अन्तिम मितिको लागि तोकिए अनुसार नै रहने बैंकले जनाएको छ । त्यस्तै, कालोसूचीमा परेका फर्म, संस्था वा कम्पनी लगायतका सञ्चालक वा कुनै लगानीकर्ताले नयाँ फर्म, कम्पनी वा संस्था खोले वा सञ्चालन गरेमा त्यस्तो व्यक्ति, फर्म, संस्था वा कम्पनी बोलपत्र पेश गर्न योग्य नहुने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्