कैलाली । मोहनापुल–अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन तीनवटा पक्की पुलको कामले अझै गति लिनसकेको छैन । गोदावरी नगरपालिका–५ सुनिखोला, मनहरा खोला र मोहना नदीमा पुल निर्माणाधीन छ ।
सुनिखोलामा तीन करोड ७७ लाखको लागतमा निर्माण कम्पनीले २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्नेगरी २०७७ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । सो अवधिमा पुल निर्माणको काम सम्पन्न नभएपछि सो कम्पनीसंग पुल निर्माणको म्याद २०८० असारसम्मका लागि थपिएको थियो ।
थपिएको समयावधिमा सुनिखोला पुल निर्माणको काम ८५ प्रतिशतमात्र पूरा भएको महाकाली पुल आयोजनाले जनाएको छ । बाँकी काम म्याद सकिएको एक वर्षसम्म पनि पूरा हुन नसकेको महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी कपिल पन्तले बताए । गोदावरी–५ मनहरा खोलामा ९ करोड ५० लाखको लागतमा निर्माणाधीन पुलको काम अलपत्र छ । निर्माण कम्पनी मनहरा खोलाको पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो ।
मनहरा खोला पुलको ‘डिजाइन’ संशोधन गर्नुपर्ने भएपछि प्रगति कम रहेको महाकाली पुल आयोजनाले जनाएको छ । मनहरा खोला पुल निर्माणको समययावधि २०८१ कात्तिक २६ गतेसम्म रहेको सूचना अधिकारी पन्तले बताए । यसैगरी, कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा २७ महिनामा सक्नेगरी २०७८ माघमा निर्माण कम्पनीसँग १३ करोड ३६ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो ।
मोहनामा पुल निर्माणको ४२ प्रतिशत काम भएको जनाइएको छ । मोहनामा २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो । सो पुल निर्माणको समयावधि २०८१ जेठ ५ गते सकिएपछि २०८२ वैशाखसम्मका लागि समय थप गरिएको महाकाली पुल आयोजनाले जनाएको छ ।
महाकाली पुल आयोजना कार्यालयका सूचना अधिकारी पन्तले मोहनाको पुल निर्माणमा बजेट भए पनि सुनिखोला र मनहराको पुल निर्माणका लागि बजेटको अभाव हुनसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्