Skip to content
Shikhar Insurance
National Life

स्वदेशमा उत्पादित जडीबुटीको बजारीकरण गर्नुपर्नेमा जोड

Hyundai
NCELL
NIMB

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन गर्दे सांसदहरुले नेपालमा उत्पादित जडीबुटीको प्रभावकारी रुपमा बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन् । आज राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सांसदहरुले लिमिटेडको भ्रमण गर्दै त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।

छलफलका क्रममा सांसद मदनकुमारी शाहले लिमिटेडका उत्पादन बजारीकरणको तहमा कमजोर रहेको भन्दै यसमा जोड दिन आग्रह गरेकी हुन् । उनीलगायत अरु सांसदहरुले पनि नेपालमा उत्पादित जडीबुटीका उत्पादन प्रयोग गरौँ भन्ने खालका सन्देश प्रवाह गर्नुपर्ने धारणा राख्य । सांसद पदमबहादुर परियारले भने ‘उत्पादित वस्तुलाई बिक्री गर्न पनि प्रक्रियागत झण्झटका कारण समस्या रहेछ । व्यापार गर्ने संस्थाको कार्यविधि नै पो परिवर्तन गर्नुपर्ने हो की यसमा सोच्नुपर्छ ।’ नेपाल जडीबुटीको क्षेत्रमा ठूलो सम्भावना बोकेको र आर्थिक क्षेत्रमा ठूलो टेवा पु¥याउन सक्ने भएकाले यसको खोज, अनुसन्धान, उत्पादनमा प्राथमिकता दिनुपर्ने सांसदहरुको भनाइ थियो ।

समितिका सभापति मायाप्रसाद शर्माले लिमिटेडका पदाधिकारीलाई यसका समस्या लिपिबद्ध गरेर समितिलाई पठाउन र अगामी दिनमा थप छलफल गरी सरोकारवालालाई झक्झक्याउन काम गरिने आश्वस्त पारे । लिमिटेडकी महाप्रबन्धक सङ्गीता यादवले आगामी दिनमा ७७ वटै जिल्ला र सातवटै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्य रहेको बताइन् । उनले भनिन् ‘हामीले बजारको अध्ययन गर्दै आफ्ना उत्पादन बढाउँदै लगेका छौं। यो वर्षदेखि शुद्ध मह पनि ल्याउने तयारीमा छौं। हाते प्रविधिबाट सञ्चालित सञ्चो उत्पादन हाल स्वाचालित अत्याधुनिक मेसिनबाट उत्पादन हुँदै आएको छ । जसले गर्दा उत्पादन क्षमतामा पनि वृद्धि भएको छ ।’

उनले बजारको मागअनुसार आपूर्ति गर्ने र विदेशमा निकासी गर्न कम्पनीको पूँजी, प्रविधि र जनशक्तिलाई पनि बढाउनुपर्ने आवश्यकता रहेको बताइन् । सञ्चालक समितिका अध्यक्ष डा सिन्धुप्रसाद ढुङ्गानाले बजारीकरणका सम्बन्धमा समस्या देखिँदै आएको बताए । उनले भने ‘प्रतिस्पर्धाको जमाना छ । कतिपय सामानका बजारभाउ अनुसार बेच्न नसकिएको अवस्था छ । प्रक्रियागत हिसाबले भाउ तोक्दा अर्को पटक भाउ फेरिसकेको हुन्छ । जसले गर्दा बिक्रीमा असर पुग्छ ।’

वि.सं २०३८ मा स्थापना भएको लिमिटेड सरकारी स्वामित्व भएको संस्था हो । लिमिटेडले नेपालमै पाइने जडीबुटीको कच्चापदार्थबाट सञ्चो, सञ्चो बाम, दुखाइ कम गर्ने तेल, ह्यान्ड सेनिटाइजर, शिलाजित तथा विभिन्न औषधि तथा सुगन्धित तेल उत्पादन गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्