काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।
ठमेल पर्यटन विकास परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पर्यटकको अथाह सम्भावना भएको नेपालमा पूर्वाधार विकास गरी देश विदेशमा प्रचारप्रसार गर्नु आवश्यक रहेको बताएका हुन् । “विश्वको सर्वोच्च शिखर सगरमाथा, आठवटा उच्च हिमाल नेपालमा छन्, विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालदेखि बुद्धको जन्मथलो लुम्बिनी नेपालमा छ, यसको विश्वमा सही ढङ्गले प्रचारप्रसार गर्नुपर्छ,” अध्यक्ष दाहालले भने ।
सांस्कृतिक र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य नेपाल भएको उनले उल्लेख गरे । राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटनको उत्कृष्ट गन्तव्य ठमेलभित्र रहेका व्यापारिक र अन्य चुनौतीलाई चिर्नका लागि परिषद् लाग्नुपर्ने उनले बताए । ठमेल पर्यटन गुरुयोजना र व्यावसायिक आचारसंहिताले ठमेललाई सही ढङ्गले अगाडि बढाउन सहयोग पुग्ने अध्यक्ष दाहालले बताए । सफा सुरक्षित व्यवसायमैत्री ठमेल बनाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो । खरिद ऐनले विकासमा बाधा पु¥याएकाले यसलाई संशोधन गर्ने काम भइरहेको अध्यक्ष दाहालले बताए । ठमेलमा सक्षम, योग्य र दुरदर्शी नेतृत्व चुन्न उनले परिषद्का सदस्यहरुलाई आग्रह गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले ठमेललाई गुनासोरहित रुपमा सञ्चालन गर्न परिषद्ले काम गर्नुपर्ने बताए । उनले पर्यटकको प्रमुख गन्तव्यस्थलका रुपमा परिचत ठमेलभित्रको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउनुपर्ने उल्लेख गरे । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले देशको अर्थतन्त्रको मुख्य आधार पर्यटन क्षेत्र भएकाले यसको विकासमा लाग्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले नेपाल आउने ८० प्रतिशत विदेशी पाहुना ठमेल आउने भएकाले यसको नेपालको पर्यटन क्षेत्रमा ठूलो महत्व रहेको उल्लेख गरे । उनले वडा र स्थानीय सरकारसँगको सहकार्यमा ठमेललाई व्यवस्थित बनाउन वर्तमान कार्यसमितिले गरेको पहलप्रति धन्यवाद दिए । नेपाल सरकारले ठमेललाई प्राथमिकतामा राख्न नसकेको उनको भनाइ थियो । पर्यटन क्षेत्रको विकास गर्न सरकारले ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने उनले बताए ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले ठमेललाई व्यवस्थित बनाउन सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । नेपाल पर्यटन बोर्ड नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारमा लाग्ने बताए । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलभित्र गर्न बाँकी रहेका काम आगामी दिनमा पुरा हुने विश्वास व्यक्त गरे । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेललाई पर्यटकीय हबका रुपमा विकास गर्न परिषद्ले काम गर्दै आएको उल्लेख गरे । कूल १५ सदस्यीय कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्