काठमाडौं । काँग्रेस-एमाले मिलाउन विभिन्न काण्डले साथ दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शुक्रबार संसदमा विस्वासको मत माग्दै प्रधानमन्त्री दाहालले ठूला नेताहरु विभिन्न काण्डमा मुछिएपछि सरकार ढाल्ने प्रपञ्च रचिएको बताएका हुन् ।
उनले भने, ‘ओम्नी यति र गिरिबन्धु भुटानी शरणार्थीको ट्याग नलगाई पनि प्रधानमन्त्री बन्न सकिने रैछ । त्रिभुवन विश्वविद्यलय जग्गा खोज्न थालियो । एक शक्ति डरायो । ललिता निवासको जग्गा खोज्न थालियो । एक शक्ति डरायो । भुटानी शरणार्थीको फाइल खोलियो । एउटा ठूलै शक्ति डरायो ।’
अरु देशमा पहिलो र दोस्रो दल मिल्ने चलन छैन । तर पहिलो र दोस्रो दल मिल्न अध्याँरो कोठाको साहारा लिनु परेको प्रधानमन्त्री दाहालको दाबी छ । लाज लाग्ने भएपछि नेकपा एमालेका साथीहरु राष्ट्रिय सहमतिको सरकारको रटान लगाएको दाबी दाहालको छ । उनले थपे ‘१७ गते राती सहमति भएको समाचार आइसक्यो । केपी ओली भएकै छैन भन्नु हुन्छ । मैले पत्रिकाबाट फोटो देखाए । उहाँ कहिलेको भन्नुहुन्छ । कतिसम्म झुट बोल्न सक्ने ।
यसपछि मैले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरे । उहाँले सहमति भैसकेको छ सरी भन्नुभयो । मैले केपी ओलीले त सहमति भएको छैन । तीन नेता बसेर टुङगो लगाउने भन्नु भएको छ भने । उहाँले उहाँकै शैलीमा भन्नु भो मलाई ढाट्न आउदैन सहमति भैसक्यो । अब बसेर काम छैन ।’
प्रधानमन्त्री ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने स्पष्ट पारे । “यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन”, प्रधानमन्त्री दाहालले भने,“उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनको जगमा बनेको यो संविधानलाई सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइने छ ।”
प्रतिक्रिया दिनुहोस्