काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा असार १८ गते होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको हो ।
सभामा संचालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत भएका आ.व.२०७८/७९ र आव २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरु छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/७९ र आ.व.२०७९/८० को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।त्यसैगरी, आव २०७९/८० को लागि लेखापरीक्षक एस.ए.आर. एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरिएको छ । यस सभाले आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
साधारण सभाले आव २०७९/८० को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९ सय ४९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । यसका साथसाथै साधारण सभाले संचालक समितिमा संस्थापक समूह (क) का सेयरधनीहरुबाट ३ जना संचालक, सर्वसाधारण समूह (ख) का सेयरधनीहरुको तर्फबाट ३ जना संचालक तथा १ जना स्वतन्त्र संचालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरिएको कम्पनीले जनाएको छ ।
अध्यक्ष गोबिन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको कुरा बताए । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालिन रणनीति निर्माण गर्न,Learning Management System लाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरिय सेवाको अनुभूति गराउन, Automation को प्रयोगबाट समयको बचत र लागत घटाउन भविष्यमा कम्पनीलाई डिजिटल रुपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको कुरा बताए ।
साथै, कम्पनीले Risk Management Framework तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरुको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराए । संचालक समितिका अध्यक्ष संघईले साधारण सभामा सेयरधनीहरुले राखेका सुझावहरुलाई सकरात्मक रूपमा लिईने जानकारी गराउँर्दै कम्पनीको विकासमा योगदान पुर्याउने सबैमा धन्यवाद ज्ञापन गए । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले सेयरधनीहरुबाट प्रस्तुत भएका जिज्ञासा तथा सुझावहरुको सन्दर्भमा संचालक समितिको धारणा प्रस्तुत गर्दै शेयरधनीहरुको सकारात्मक सुझावहरुलाई कम्पनीको विकासको निम्ति अवलम्बन गर्न सदैव तयार रहेको कुरा बताए ।
२३औँ र २४औँ बार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले कुल बीमाशुल्क आर्जनका आधारमा आ.व २०७८/७९ मा नेपालको समग्र जीवन बीमा बजारको २५.५९ प्रतिशत र आ.व. २०७९/८० मा २६.०६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको सहर्ष जानकारी गराए ।२०८१ जेठ मसान्त सम्ममा यस कम्पनीको लगानी २००.५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १८९ अर्ब १८ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९३ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्