काठमाडाैं । नेपाली काँग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि काँग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएका छन् । मंगलबार काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
उनले संविधानसहितका मुद्दाहरुलाई केन्द्रित गरेर सरकार निर्माणमा सहभागी भएको बताए । उनले आम नागरिकका समस्यालाई केन्द्रमा राखेर नेकपा एमालेसँग सरकार बनाउने सहमति भएको जानकारी गरे । उनले अस्थिरताका कारण आर्थिक स्थिति सुध्रिन अफ्ठ्यारो भएको, सुशासन सुनिश्चित गर्न अफ्ठ्यारो भएकाले पनि दुई ठूला दलहरुको सरकार आवश्यक रहेको बताए । उनले दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरु दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको बताए ।
सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष ओली र काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने आधारमा मोटामोटी समझदारी भएको बताए । समझदारीलाई अन्तिम रुप दिन पार्टीको केन्द्रिय कार्यसम्पादन समितिले निर्णय गर्ने जानकारी गरे । उनले राष्ट्रपति निवासमा सोमवार राति सभापति देउवा र अध्यक्ष ओली पुगे भन्नेकुरामा कुनै सत्यता नरहेको र संविधानका सवालमा आयोग बन्ने र ड्राफ्ट नै भइसक्यो भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्