काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले काठमाडौं जिल्ला अदालतमा पेश भएको मुद्दामा दुई पटक प्रहरीले बयान लिएको ३ जना व्यक्तिलाई फरार अभियुक्त बनाइएको भन्दै यस सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले २ जना मान्छे प्रहरीको सम्पर्कमा नभएकाे तर राजकुमार तिमल्सिनालाई भने प्रहरीले दुईचोटी बयान लिएर पनि फरार अभियुक्तको रुपमा मुद्दा अदालतमा पेश गरिएको बताए। उनले बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त बनाइएकोप्रति गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने समेत बताए ।
त्यस्तै नेपाली कांग्रेसका साँसद चन्द्रकान्त भण्डारीले आफ्नो जिल्लामा विशेष क्षमता भएका व्यक्तिले खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए प्राप्त गरेको भन्दै उनको आगामी पढाइको ग्यारेन्टी लिन सरकारसँग माग गरे । नेकपा(माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपद्बाट बचाउन असुरक्षित स्थानमा रहेका बसोवासलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताए । उनले उच्च रुपमा सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।
उनले घटना हुनासाथ उद्धार, उपचार र पुनःस्थापनाको लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले सरकारको काम विपद्को सूचना मात्रै दिने नभइ विपद् हुनासाथ तत्काल उपस्थिति जनाएर जनताको उद्धार गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्