बागमती । मकवानपुरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बजेट घटाएर ल्याएका छन् । मकवानपुरका १० मध्ये नौ पालिकाले निर्धारित समय (असार १० गते) भित्रै बजेट ल्याएका छन् । जनप्रतिनिधिबीचको विवादका कारण यहाँको बागमती गाउँपालिकाले बजेट ल्याएको छैन ।
सोमबारमात्रै मकवानपुरको मनहरी, मकवानपुरगढी, राक्सिराङ, कैलाशा र भीमफेदी गाउँपालिकाले आगामी आवको ल्याएका छन् । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाले भने अघिल्लो साता बजेट ल्याएका थिए । आर्थिक तरलता, राजस्व सङ्कलनमा गिरावट, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कटौतीलगायत कारणले यहाँका स्थानीय तहहरुले चालु आवको भन्दा आकार घटाएर ल्याएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आवका लागि ९० करोड १३ हजारको बजेट ल्याएको छ । यो चालु आवको तुलनामा तीन करोड कम हो । यस्तै, राक्सिराङ गाउँपालिकाले आगामी आवका लागि ५४ करोड ६१ लाख ७३ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले चालुतर्फ ३३ करोड ४१ लाख ६७ हजार र पुँजीगततर्फ २१ करोड २० लाख पाँच हजार छ सय २३ खर्च हुने अनुमान रहेको प्रस्तुत गरे ।
मकवानपुरको कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आवका लागि ४८ करोड ७८ लाख ६७ हजारको बजेट प्रस्तुत गरे । मकवानपुरगढी गाउँपालिकाले पनि चालु आवको तुलनामा चार करोड छ लाख ७६ हजार बजेट घटाएर ६२ करोड दुई लाख ५६ हजारको बजेट प्रस्तुत गरेको छ । यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकाले पनि आगामी आवका लागि ७४ करोड ३६ लाख ७३ को बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले चालु आवको भन्दा रु एक करोड घटाएर बजेट प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्