काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले आफ्नो मन्त्रालयले कुनै जात, धर्म र सम्प्रदाय विशेष बजेट विनियोजन नगरेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री तामाङले आफूले बजेट विनियोजन गर्दा धर्म निरपेक्ष मुलुक हो भन्ने कुरामा सचेत रहेर गरेको बताएका हुन् ।
उनले कुनैपनि जात, धर्म र सम्प्रदाय केन्द्रित हुनेगरी बजेट विनियोजन नभएको बताए । उनले योजना माग गरेर आएको निवेदनहरु मध्येबाट सबैलाई समेटेर सन्तुलित बनाउने गरी बजेट विनियोजन भएको बताए । उनले २०७२ सालको भूकम्पले क्षति पु¥याएका २१५ वटा गुम्बाहरु सरकारको निकायमा सूचिकृत भएको र ति गुम्बाहरु बनाउनु सरकारको दायित्व भएकाले आफूले केही गुम्बाहरुलाई बनाउनका लागि बजेट विनियोजन गरेको बताए ।
मन्त्री तामाङले अन्तर्राष्ट्रिय विमानस्थलहरुमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुको सेवा बिस्तार गरी उडान संख्या वृद्धि गर्न अध्ययन भइरहेको बताए । उनले हवाई भाडालाई समसामयिक परिमार्जन गर्न तथा हवाई भाडामा समानता र एकरुपता कायम गर्नका लागि पनि अध्ययन भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्