काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता भएको छ । सम्झौता नारायणहिटी उत्तर ढोकास्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा असार ६ गते भएको हो ।
सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरि प्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई हस्ताक्षर गरे । चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रा।लि। दुई तारे सुविधा सम्पन्न होटल हो । ५२ कट्ठा जग्गामा निर्मित होटलमा सुविधा सम्पन्न ४८ कोठा, स्वीमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हलहरू रहेका छन् । आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना रहेको होटल सेभेनले जनाएको छ ।
होटलको हालको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरण, सर्वसाधारणलाई सेयर निष्काशन लगायत कार्यमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले परमर्शदाताको रूपमा सेवा प्रदान गर्ने होटल सेभेनले जनाए ।
प्रतिक्रिया दिनुहोस्