काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका ७ स्थित बसोबास गर्ने ७६ वर्षीया बिष्णुलक्ष्मी खरेलले आफ्नो भत्ता दुरुपयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेकी छन् ।
खरेलले वडा कार्यालय फलाँटेबाट ज्येष्ठ नागरिक वापतको सामाजिक सुरक्षाभत्ता आफूखुसी दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको हुँदा छानविन र अनुसन्धानका लागि उजुरी दर्ता गरेकी हुन् । वडाअध्यक्ष रमेश खरेल र वडासचिव राम प्रसाद बडाल समेतको मिलेमतोमा सोही वडाकी ७६ वर्षीया बिष्णुलक्ष्मी खरेलले आव २०७६/०७७ साउन महिनादेखि नियमति रुपमा पाउँदै आएको वृद्धभत्ता आ.व. २०८१ साउनदेखि नपाएको विषयमा गत असोजमै गुनासो गरेकी थिईन् ।
रोकिएको वृद्धभत्ता रकम एकमुष्ट आउने भन्दै अल्मल्याउँदै आर्थिक वर्ष सकिन लाग्दा पनि उपलब्ध गराउनेतर्फ कुनै पहल नभएपछि बाध्य भएर अख्तियारमा उजुरी हालेको वृद्धा बिष्णुलक्ष्मीले बताईन् । उजुरी २०८१ जेठ २५ गते दर्ता भएको थियो । साउन महिनामा वृद्धभत्ता नविकरणका लागि श्रीमती बिष्णुलक्ष्मी र उनको पतिको कार्ड, फोटो र आवश्यक कागजातहरु एकैसाथ वडाअध्यक्षलाई बुझाएकोमा बिना आधार र कारण वृद्धभत्ता उपलब्ध नगराएकोमा अख्तियारको ध्यानाकर्षण गराइएको छ । साथै, वडासचिव बडाल कार्यालयमा अनियमित समेत हुने गरेको खरेलले बताईन् ।
वडाअध्यक्ष र वडासचिवले नियतवश नाम कटाई वृद्धभत्ता रकम दुरुपयोग गरी आर्थिक हिनामिना गरेकाले उनीहरुबाट आफ्नो जिम्मेवारी निर्वाह नगरी वृद्धाअवस्थामा पुगेको व्यक्तिलाई मानसिक यातना र असामाजिक व्यवहार गरेको उजुरीमा उल्लेख छ । मृतक तथा बसाइसराई गर्ने व्यक्तिहरुको नाम सामाजिक सुरक्षाभत्ता पाउने सूचीबाट हटाउनुपर्नेमा निजहरुको यथावत राखी भ्रष्टाचार गर्ने मनसायले नियमित रहेकाहरुको सामाजिक भत्ता निकासा नभएको सम्बन्धमा अख्तियारले छानविन अघि बढाएको छ । आफ्नो वडाभित्र सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिहरुको अभिलेख राख्ने र नियमित गर्ने दायित्व र कर्तव्य निर्वाह नगर्दा वृद्धवृद्धाहरुले सास्ती व्यहोर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्