धनुषा । जनकपुरधाममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उत्थानमा क्रियाशील मैथिली विकास कोषको सङ्ग्रहालयसहित भवन निर्माण अन्तिम चरणमा पुगेको छ । कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार जनकपुरधाम-८ मा रहेका विहारकुण्डको पश्चिमपट्टि भवन निर्माण पूरा हुने क्रममा पुगेको हो ।
मधेस प्रदेशको राजधानी जनकपुरधामको संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भवन निर्माण सुरु गरिएको थियो । अध्यक्ष चौधरीले भने,“भवनमा सङ्ग्रहालय स्थापना भएपछि यो पर्यटकहरुका लागि पनि गन्तव्य बन्नेमा विश्वास लिएका छौँ ।”
मधेस प्रदेश सरकारको ७ करोड लगानीमा निर्माण भएको चारतले भवनमा सङ्ग्रहालय, तीन सयजना अटाउने सभाहल तथा नाटक घर, पुस्तकालय, स्टुडियोसहितका सुविधा रहनेछन् । जनकपुरधामको सीताकुण्डको जग्गा भाडामा लिएर भवन निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्