भक्तपुर । सूर्यविनायक नगरपालिका-२ बालकोटका पुराना ढुङ्गेधारा बिस्तारै लोप हुने चरणमा पुगेका छन् । विसं २०७२ सम्म दुई ढुङ्गेधारा रहेको धारापाटीमा अहिले धाराको ठाउँमा पाइपको टुक्रामात्र राखिएको छ । विसं २०४९ मा धारा सुकेपछि जमिनमुनि खनेर पानी निकालेर चलाइएको थियो ।
बिस्तारै बोरिङको पानी पनि सुक्न थालेपछि पछिल्लो दुई वर्षदेखि ढुङ्गेधारामा पानी आउँदैन । पानी सुक्नुको मुख्य कारण धाराको पानीको मुहानमाथि सडक कालोपत्र गरिरहेको पाइएको छ । परम्परागत रुपमा ढुङ्गेधारामा आउने पानीलाई नागदेवताको आशीर्वाद मानिन्छ तर अहिले ढुङ्गेधारा पाइपको सानो टुक्रा र फोहरले ढाकिएको स्थितिमा सीमित हुन पुगेको छ । सहरिया जीवनशैलीका कारण ढुङ्गेधाराको सुरक्षा र संरक्षणका लागि यहाँका स्थानीय बासिन्दाले पनि पछिल्लो समय ध्यान दिन छाडेका छन् ।
धारामा पानी नआउने हो भने धाराको महत्व घट्दै गएर अहिले फोहरको थुप्रोले धारा पुरिन थालेका छन् । सूर्यविनायक–२ स्थित स्थानीय गुप्तेश्वर संरक्षण समितिले खानेपानीको सहज उपलब्धताका लागि सम्बन्धित निकायमा आग्रह गरेपछि हप्ताको एक दिन घरको धारामा खानेपानी आउने गरेको छ । सांस्कृतिक र धार्मिकरुपमा पनि महत्व बोकेको ढुङ्गेधारा अहिले उपलब्ध नहँुदा यहाँका बासिन्दा चिन्तित देखिन्छन् ।
स्थानीय गुप्तेश्वर संरक्षण समितिका अध्यक्ष शिवराम श्रेष्ठले भने,“सडक कालोपत्र हुँदै गए, ढलान भए र पानीको मुहान नै सुकेपछि ढुङ्गेधारा पनि सुक्दै गए । यहाँका दुई ढुङ्गेधारा एकदमै कलात्मक थिए, विभिन्न देवीदेवताका मूर्ति पनि यहाँ रहेका थिए तर बिस्तारै मूर्ति हराउँदै गए र अहिले ढुङ्गेधारा सुक्दै गएका छन् ।” ढल खन्दै जाने क्रममा मुहान भेटिएको र त्यसैलाई सुरक्षित साथ राखेर ढुङ्गेधाराको निर्माण गरिएको थियो । उनका अनुसार दुई–तीन सय वर्ष अगाडिदेखि चलनमा आएको ढुङ्गेधारा बोरिङको पानीका भरमा सधैँ चल्न सकेनन् ।
“विसं २०७९ मा फेरि बिस्तारै धारा सुक्दै गए, वर्षाको बेलामा मात्र पानी आउन थाल्यो, ढुङ्गेधाराको संरक्षणका लागि वडा कार्यालयले आर्थिक सहयोग गर्ने गरेको छ”, उनले भने । विसं २०७९ मा पानी सुक्दा वडाको आर्थिक सहयोगमा सात÷आठ ठाउँमा बोरिङ गर्दा पनि पानीको स्रोत पत्ता नलागेको संरक्षण समितिका अध्यक्ष श्रेष्ठले बताए । वडा नं २ का वडाध्यक्ष प्रदीप कार्कीले ढुङ्गेधारामा पानीको मुहान सुकेको विषयमा आफूहरु जानकार रहेको तर सडक निर्माण भइसकेकाले आफूहरुले मात्रै पहल गरेर मुहान पत्ता लगाउन नसकिने बताए ।
उनका अनुसार बालकोटका ढुङ्गेधारा दुई–तीन सय वर्ष पुराना हुन् । “त्यसबेला पानी भए पनि चलनमा थिएन, एकपटक छिमेकी चीनका पर्यटक आएर त्यहाँको पानी खाएर स्वाद मीठो भएपछि बालकोट निवासी सबैले त्यहाँको धाराको पानी प्रयोग गर्न थालेका हुन्”, उनले भने । श्रेष्ठका अनुसार यहाँ पानी लिन मानिस काठमाडौँको कलङ्की र सिनामङ्गलदेखि आउने गर्दथे । बटुवालाई ढुङ्गेधाराबाट सफा र चिसो पानी प्राप्त हुने गरेको उनले स्मरण गरे ।
बाटो ढलान, सडक कालोपत्र, मुहानभन्दा तल ढल निकास र कङ्क्रिटका घरका कारण पानीका मुहान सुक्दै गएको समितिका अध्यक्ष श्रेष्ठ बताउँछन् । अहिले धारोमा पानी पूरै सुकेको र ढुङ्ेधारा एकदमै फोहोर तथा लोप हुने अवस्थामा पुगेको उनले जानकारी दिए । खानेपानीका लागि हप्तामा एक दिन कुर्नुपर्ने भएकाले अब मेलम्ची खानेपानी आयोजनाको आशमा बालकोट रहेको जनाउँदै श्रेष्ठ भन्छन्,“अब केवल मेलम्चीको आश गर्नुबाहेक अर्को विकल्प रहेन ।”
प्रतिक्रिया दिनुहोस्