काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक र सरकारबीच सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भएपश्चात चालक र सरकारबीच सहमति भएको हो ।
सहमतिपछि आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । सहमतिअनुसार नेपाल पेट्रोलियम ट्यांकर चालक संघको ७ बुँदे माग लगायतका समस्याहरुको समाधान गर्ने गरी १५ दिन भित्र प्रतिवेदन पेश गर्न उपसमिति गठन गर्ने भएको छ ।
समिति निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुने गरी गठन गर्ने निर्णय भएको हो ।
सहमति पश्चात आजै(असार ३ गते) देखि ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने भएको छ ।
सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएसँगै तेल आपूर्ति पनि सुरु भएको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेको थियो ।
प्रतिक्रिया दिनुहोस्