काठमाडौं । विद्युतिय गाडीमा मोटर किलोवाटमा छलि भएको महसुल असुल गर्न २ वटा छुट्टा छुट्टै समिति गठन हुने भएको छ । इभी आयातकर्ताहरुले धेरै किलोवाटको गाडीहरु समेत कम किलोवाट लेखाएर ल्याएको रहस्य खुलेपछि समिति गठन हुने भएको हो । इभी गाडीहरुमा किलोवाट छलि भएको विषयमा भन्सार विभागले आन्तरिक अध्ययन गरेको थियो ।
अध्ययनको क्रममा इभी गाडीमा बढी किलोवाटको गाडीमा कम लेखाएर ल्याएको खुलेपछि विभाग अघि बढेको हो । भन्सार विभागले जेठ ४ गते नै सबै कार्यालयहरुलाई पत्राचार गर्दै इभी गाडीको किलोवाट छलिमा उच्च सतर्कता अपनाउन पत्राचार गरिसकेको छ । साथै, छलि भएको कर असुल गर्न समेत निर्देशन दिइसकेको छ । इभी गाडीमा भएको महसुल निर्धारण तथा छुट भएको महसुल निर्धारण गर्न भन्सार जाँचपासपछिको परिक्षण कार्यविधि २०७८ अनुसार समिति गठन हुने भएको हो ।
कार्यविधिको दफा ६ को (४) मा (४) तोकिएको लक्ष्य बमोजिमका निकासीकर्ता वा पैठारीकर्ताहरू, फर्महरु वा मालवस्तुहरु वा प्रज्ञापनपत्रहरु छनौट गर्न तथा छनौटको लागि नीतिगत परामर्श दिन विभागमा देहाय बमोजिमको एक छनौट समिति रहनेछ भनि उल्लेख छ । जसमा संयोजक उपमहानिर्देशक, विभाग (सुधार तथा व्यवस्थापन महाशाखा) का सहिसचिव रहनेछन् ।
विद्युतिय गाडीको मोटर वाटमा भन्सार छलि: जाँचपास भैसकेका हजारौं इभीबाट थप महसुल असुल्न परिपत्र
यस्तै, सदस्यहरुमा प्रमुख भन्सार परीक्षण प्रशासक, भन्सार जाँचपास परिक्षण कार्यालय, मूल्यांकन शाखाका निर्देशक र सदस्य सचिवका रुपमा विभागको मूल्यांकन शाखा अधिकृत रहनेछ । यो समितिले कुन-कुन कम्पनीले कति गाडी भित्र्याएर कर छलि गरे भन्ने विषयमा कर परिक्षणका लागि प्रज्ञापनपत्र छनोट तथा परामर्श दिने गर्छ ।
यसैगरी समितिले जाँचपास भएको कार्यालयमा परिक्षण गर्नका लागि कार्याविधिको दफा उपदफा ७ बमोजिमको समिति गठन गर्नेछ । कार्यालयमा परीक्षणको लागि छनौट गर्नका लाग तीन सदस्यीय समिति गठन गरिनेछ । जसमा प्रमुख भन्सार परिक्षण प्रशासक संयोजक, संयोजकले तोकेको भन्सार परीक्षक सदस्य र संयोजकले तोकेको प्रमुख भन्सार परीक्षक सदस्य सचिव रहनेछ ।
भन्सार विभागले इभी गाडीमा छलि भएको राजस्वको अडिट गर्न पत्र प्राप्त भैसकेको भन्सार जाँचपास परिक्षण कार्यालयका प्रमुख सम्भुप्रसाद मरासिनीले बताए । मरासीनीले सिंहदरबारसँग भने, ‘विभागले दिएको निर्देशन बमोजिम इभी गाडीमा छलि भएको महसुलको अडिटको काम सुरु हुनेछ, अडिट गर्ने प्रज्ञापन पत्र भने विभागले नै उपलब्ध गराउनेछ।’
सरकारले इभी गाडी आयातका लागि किलोवाट अनुसार भन्सार महशुल तथा अन्य करको दर निर्धारण गर्ने गरेको छ । आयातकर्ताहरुले नक्कली प्रज्ञापन पत्र बनाई आधिकारिक कम्पनी भन्दा फरक किलोवाट देखाई भन्सार छलि गरिहरेका छन् । इभी आयातबाट भन्सार महसुल मात्रै करिब ५ अर्ब रुपैयाँ छलि भएको विभागको निष्कर्ष छ ।
अर्थ मन्त्रालयमा जेठ १६ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा राजस्व सचिव डा.राम प्रसाद घिमिरेले इभी आयातकर्ताहरुले भन्सार छलि गरेको स्वीकार गरेका थिए । यसरी किलोवाट छलि गरी गाडी भित्र्याउनेहरुमा एमएडब्लु वृद्धिले भित्र्याएको चागंनको डीपल, शारदा ग्रुपले भित्र्याएको ओमोडा, साइमेक्स इंकले भित्र्याएको बीवाईडी लगायतका गाडीले किलोवाट छलेर धमाधम गाडी भित्र्याइरहको विभागको अध्ययनले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्