काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक चौधरीले जमिनबाट आम जनताको शोषण भईरहेकाले पनि सरकारले उनीहरुलाई न्याय दिन पनि सबै जमिन सरकारले आफ्नाे मातहतमा ल्याउनुपर्ने आवश्यकता रहेको औंल्याए । जमिनको माध्यामबाट जनतामाथि चरम शोषण भएको र वास्तविक किसानले श्रमको मूल्य पाउन नसकिरहेको अवस्थामा सरकारले सबै जमिनलाई आफ्नो मातहत ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।
प्रमुख सचेतक चौधरीले सरकारले सो जमिन कृषि र उद्योगको क्षेत्रमा काम गर्ने आम नागरिकलाई तिरो लिएर लिनुपर्ने योजना पनि प्रश्तुत गरे । उनले व्यक्तिमा जमिनको स्वामित्व हुँदा राष्ट्रिय आयमा खासै योगदान पुग्न नसकेको तथ्यलाई पनि सरकारले मनन गरेर भू सम्बन्धि नीति बनाउनुपर्ने बताए ।
प्रमुख सचेतक चौधरीले बाँझो जमिन परिचालन गर्ने दिशामा सरकारले ठोस योजना बनाउन नसकेको गुनासो गरे ।
प्रतिक्रिया दिनुहोस्