काठमाडौं । आइएमई ग्रुपका सह-सस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले देशको औपचारिक अर्थतन्त्र विकासमा आइएमईले योगदान गरिरहेको बताएका छन् । उनले कम्पनीको २४ औँ वार्षिकोत्सवको अवसरमा यस्तो बताएका हुन् ।
ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गर्न पुर्याउने कम्पनीको रूपमा आइएमईले योगदान गरिरहेको बताए ।
रेमिटेन्स सेवा रकमको औपचारिक आदान प्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गरे । आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सन्देश मार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
साथै, अध्यक्ष ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायहरूलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने पनि उल्लेख गरे । त्यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए ।
प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्दै विविधिकृत सेवाहरूको मध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिँदै अघि बढ्ने पनि सीईओ पौडेलले उल्लेख गरे । उक्त समारोहमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उप बिजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।
समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्