काठमाडौं । नेपाल एसबिआई बैंक र FonePay(फोन पे) प्रालिबीच नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब (UPI) आबद्ध एपहरू (PhonePe, BHIM UPI, Google Pay) प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्ने सम्झौता भएको हो ।
बैंकले Person-to-Merchant (P2M) भुक्तानी च्यानल सञ्चालन गर्न FonePay प्रालिसँग सम्झौता गरेको हो । नेपाल एसबिआईको FonePay नेटवर्कसँग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै (UPI) भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्ने सम्झौतामा उल्लेख छ । यस सम्झौताले नगदरहित कारोवारलाई प्रबद्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको छ ।
उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत(सीईओ) दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा र FonePay का तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र FonePay का प्रमुख व्यवसाय अधिकृत सुमित दास लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
हाल बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्