Shikhar Insurance
National Life

बझाङमा चन्दा सङ्कलनबाट भूकम्पले नष्ट गरेको विद्यालय भवन निर्माण

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ २३, बुधबार ११:२३
Hyundai
NCELL
NIMB

बझाङ । सपना विष्ट कक्षा ७ मा अध्ययनरत छन् । कक्षामा पढिरहेका बेला गत असोज १६ गते अपराह्न २ बजेको भूकम्पले भागाभाग भएको थियो । थलारा गाउँपालिका–९ मा रहेको भवानी आधारभूत विद्यालयका सपनासहितका विद्यार्थी कापीकलम छाडेर भाग्न भनेका थिए ।

विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर विष्टले भने,“भूकम्पले भवानी आधारभूत विद्यालयको भवन भग्नावशेषमा परिणत भएपछि विद्यार्थीहरू चौरमा बसेर पढ्न थाल्नुभयो । चौरमा बस्दा पनि भूकम्प हुने र ढुङ्गाहरू खस्ने डर भइरह्यो । विद्यालय बन्द गर्ने कुरा भएन । चौरमा पढाउन पनि डर भयो । भिरालो ठाउँमा जोखिम मोलेर गुजार्यौँ ।”उक्त विद्यालयका बालबालिका खुला चौरमा पढ्न बाध्य भएको खबर सार्वजनिक भएपछि नेपाल रेडक्रसले चासो देखाएको प्रधानाध्यापक विष्ट सम्झिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने,“समाचार सार्वजनिक भएपछि रेडक्रसको काठमाडौं शाखाले विद्यार्थीको समस्या समाधानको चासो देखायो । हामी निकै उत्साहित भयौँ ।”शाखाले काठमाडौंका विद्यालयमा सञ्चालन गरेको ‘मेरो एक दिनको खाजा भूकम्प प्रभावित साथीलाई’ कार्यक्रम चलाएर रकम सङ्कलन गर्दै विद्यालयको खातामा जम्मा गर्यो । विद्यालय भवनको काम भइरह्यो र निर्माण कम्पनीसँग सम्झौता भएको तीन महिनामै भवन निर्माण गरेर रेडक्रस काठमाडौं शाखाले हस्तान्तरण गर्यो ।

काठमाडौ. शाखाले रेडक्रसकै विभिन्न उपशाखा, संस्था, व्यक्तिसँग हात फिजाएर रकम जम्मा गर्दै विद्यालय भवन निर्माण गरेको नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले बताए । उनले समाचारमा पढेको पीडालाई सहन नसकेर सबैलाई सहयोग माग्दै भवन निर्माण गरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढेपबहादुर विष्टलाई भवन हस्तान्तरण गर्दै सभापति डोटेलले भने,“रेडक्रस भनेको पीडितको घाउमा मल्हम लगाउने संस्था हो ।”

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णबहादुर विष्टले विद्यार्थीलाई खुला चौरमा पठनपाठन गराउँदा कापीकलम उडेर खोलामा पुग्ने समस्या अब टरेको बताए । “पहिले खुलाचौरमा शिक्षक विद्यार्थीलाई अति नै समस्या थियो । त्यसै बेलामा काठमाडौँ रेडक्रसलाई भगवान्ले टुप्लक्क पठाएजस्तै भयो । बेसहारालाई सहारा दिनुभयो । विद्यालय परिवार खुसी छ”, उनले भने ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिबी विष्टले पनि समाचारका आधारमा विद्यालय भवन बनाउने काठमाडौं शाखाको कामको प्रशंसा गरे । “सानो लगानीमा बलियो तीनकोठे भवन बन्छ भन्ने कसैलाई विश्वास थिएन । तर, सम्भव भयो”, उनले बताए । काठमाडौं रेडक्रसले भवानी आधारभूत विद्यालयको तीनकोठे भवन निर्माण गरेको छ । रेडक्रस काठमाडौं शाखाका सभापति डोटेलले भने,“विद्यार्थीको पीडा सुनेर नयाँ शैक्षिकसत्रदेखि पठनपाठन हुनेगरी तयारी गरेका थियौँ । हाम्रो अभियान सफल भयो । अब बालबालिकालाई सहज हुनेछ । हामी पनि खुसी छौँ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्